लन्डन । नेपाली दूतावास लन्डनमा नेपाली सेना दिवस मनाइएको छ । गत बुधवार साँझ नेपाली सेनाका कर्णेल तथा दूतवासका मेलिटरी अट्याची प्रदिपजंग केसीले आयोजना गरेको विशेष रिसेप्सन कार्यक्रममा बेलायतस्थित नेपालीहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाली सेनाले राष्ट्र निर्माणमा विभिन्न क्षेत्रमा गरेका योगदानको वृतचित्रसमेत देखाएको थियो । कार्यबाहक राजदूत तेजबहादूर क्षेत्री, नेपाली सेनाका कर्णेल केसीले संयुक्तरुपमा ‘नेपाली सेना दिवस २०१५’ लेखेको केक काटेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा जेष्ठ सगरमाथा आरोही मीनबहादुर शेरचनको समेत उपस्थिति थियो । उनले यसअघि ७९ बर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए भने अहिले ८४ बर्षको उमेरमा फेरि सगरमाथा आरोहण गर्ने योजना बनाएका छन् । नेपाली दूतावास लन्डनमा पहिलो पटक नेपाली सेना दिवस मनाएको हो । नेपाली सेनाले शिवरात्रीलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।







