काठमाडौं– सरकारले आगामी असोज ३ गते भव्य कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ । बुधबार संविधान दिवस मूल समारोह समितिले गृह मन्त्रालयलमा आयोजना गरेको कार्यक्रममा समितिका संयोजक समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान दिवस भब्यताका साथ मनाइने जानकारी दिए ।
समितिका अनुसार असोज १ गते उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा ब्यानर सजाई नगरको श्रृंगार गरिनेछ ।
असोज २ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकाहरुबाट संविधान विशेषांक स्मारिकाको रुपमा प्रकाशन गर्नुका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको प्रकाशन गरिनेछ ।
यस्तै सरकारी रेडियो र टेलिभिजनका साथै निजी क्षेत्रका सञ्चारमाध्यमबाट समेत संविधानको महत्वका बारेमा कार्यक्रम सञ्चालन गरिनेछ भने रेडियोबाट जागरण गीन पनि प्रकाशन गरिनेछ । सोहि साँझ घरघरमा दिपावली पनि गरिनेछ ।
यसैगरी असोज तीन गते संविधान दिवसको दिन सुर्योदयका साथ नेपाली सेनाले बिगुल बजाउनुका तथा तोप र बन्दुकको बढाईँ गर्नेछ ।
यस्तै राष्ट्र, राष्ट्रियता स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न धार्मिक संघसंस्थाहरुबाट विभिन्न मठ मन्दिर चर्च, मस्जिद, बुद्ध बिहारलगायतका स्थानहरुमा पुजापाठ तथा प्राथर्नाको कार्यक्रम सञ्चालन गरिनेछ भने नेपाल टेलिभिजनबाट संविधानका विविध आयाम समेटिएका डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।
यस्तै बिहान ८ बजेदेखि सैनिक मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिनेछ जुन कार्यक्रममा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
उक्त विशेष कार्यक्रममा राष्ट्रिय गान बजाउँदै नेपाली सेनको हेलिकप्टरमार्फत ‘संविधान दिवस २०७३’ अंकित व्यानर प्रदर्शन, पुष्पबृष्टि र बेलुन उडाइने छ ।
संविधानसभाबाट गत वर्षको असोज तीन गते संविधान जारी भएको थियो ।






