सिड्नीमा महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती तथा साहित्यिक महोत्सव सम्पन्न, तेजनिधि पौडेलको पुस्तक सार्वजनिक

सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स शाखाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा विशेष साहित्यिक महोत्सव तथा रचनावाचन कार्यक्रम सिड्नीमा सम्पन्न भएको छ। मेरिल्यान्ड्सस्थित एनआरएनए सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्य र सिर्जनाप्रति रुचि राख्ने साहित्यकार, कवि, सर्जक तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनेसास न्यु साउथ वेल्स शाखाकी अध्यक्ष भावना पराजुलीको नेतृत्वमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक महासचिव सानु घिमिरे, डा. गार्गी शर्मा, निस्प्रभ साजी, सुमन पाण्डे, संस्थाका सचिव नेत्र पौडेल, सौरभ किरण, छात्र बी. धामी, डा. प्रकाश पौडेल, देव पी. पाठक, दामोदर न्यौपाने, राहुल अर्याल, सपना श्रेष्ठ, दयाराम सिम्खडालगायत साहित्यिक व्यक्तित्वहरूले आफ्ना मौलिक कविता, गजल तथा साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए।कार्यक्रममा कलाकार जेनिशा गौतमले भजन प्रस्तुत गरेकी थिइन्। त्यसैगरी, अनेसासका सल्लाहकार डा. मधु पुडासैनी तथा संस्थाका पूर्व महासचिव प्रवीण तण्डनले पठाएका कविता श्रव्यदृश्य माध्यमबाट प्रस्तुत गरिएको थियो। विभिन्न स्रष्टाका मौलिक रचनाले कार्यक्रमलाई साहित्यिक र सिर्जनात्मक वातावरण प्रदान गरेको थियो।

कार्यक्रमका अवसरमा तेजनिधि पौडेलद्वारा लिखित ‘जीवनका अनुभव र यात्रा संस्मरण’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो। लेखक पौडेल डा. प्रकाश पौडेलका पिता हुन्। पुस्तक सार्वजनिक कार्यक्रममा डा. गार्गी शर्मा, सौरभ किरण, सानु घिमिरे, डा. प्रकाश पौडेल र भावना पराजुलीलगायत सहभागी थिए। पुस्तक विमोचन कार्यक्रम संक्षिप्त रूपमा सम्पन्न भएको थियो भने लेखक पौडेलले आफ्नो कविता वाचन गर्नुका साथै पुस्तक र आफ्ना अनुभवबारे मन्तव्य राखेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य अनेसासका पूर्व अध्यक्ष डा. प्रकाश पौडेलले दिएका थिए। कार्यक्रमलाई चार चरणमा विभाजन गरिएको थियो। पहिलो, दोस्रो र तेस्रो चरणको सञ्चालन कार्यसमिति सदस्य दयाराम सिम्खडाले गरेका थिए भने अन्तिम चरण संस्थाका सचिव नेत्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा अन्वी बस्ताकोटीको पनि सहभागिता रहेको थियो।महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्य र सिर्जनालाई प्रवासमा संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने विषयमा जोड दिइएको थियो। सहभागी साहित्यकारहरूले आफ्ना रचनामार्फत नेपाली साहित्यको विविधता प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा देउसी–भैलोका गीत प्रस्तुत गरिएको थियो। साहित्यिक प्रस्तुतिपछि समावेश गरिएको देउसी–भैलोले कार्यक्रममा तिहारको सांस्कृतिक रौनकसमेत थपेको थियो।

अनेसास न्यु साउथ वेल्स शाखाकी अध्यक्ष भावना पराजुली तथा सम्पूर्ण आयोजक टोलीको पहलमा सम्पन्न कार्यक्रमले प्रवासमा रहेका नेपाली साहित्यकार र साहित्यप्रेमीलाई एउटै मञ्चमा जोडेको छ। नेपाली साहित्यिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई भाषा, साहित्य र सिर्जनासँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *