मेलबर्नमा एउटा बाटोको नाम ‘गोर्खा वे’

सिड्नी । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको Wyndham Vale काउन्सिलमा बन्दै गरेको एउटा नयाँ बस्तीमा दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको संझनामा एउटा बाटोको नाम गोर्खा वे राखिएको छ । यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन जस्ले करीब १,००० बर्गमिटर क्षेत्रफल ओगटछ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।

यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गरेकी हुन् । यस्तो सोंच उहाँ भिक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आए तापनि त्यहाँ यस्का लागि उपयुक्त वाताबरण नपाएकोले केही नगरिराखेकोमा वैरबीमा बस्न थालेपछि त्यहाँ युद्ध संग्रालय पनि भएको पाएपछि नयाँ बस्तीमा आफ्नो सोंचलाई मूर्त रुप दिन सम्भव भएको हो । काउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाए दिएको थियो ।

डेभलोपरसंगको कुराकानीपस्चात प्रस्ताबलाई मूर्तरुप दिन अबधारणा प्रस्ताब माग गरेपछि श्रेष्ठले प्रस्ताव पेस गरेकी थिइन् । प्रस्ताबलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपश्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।