सिड्नी । एएसएपी इन्टरटेन्मेन्टका निर्देशक सन्तोष अधिकारीले जन्मदिनको अवसर पारेर ब्लड क्यान्सर पीडित बालिकालाई नगद सहयोग गरेका छन् । हाल अस्ट्रेलियामा रहेका अधिकारीले कास्की माछापुच्छरे गाउँपालिका–६ धितालकी ८ वर्षीय इसु गौतमको उपचारका लागि नगद सहयोग गरेका हुन् । बालिकाको उपचारमा सहयोगका लागि उनले ३२ हजार ८ सय २५ रुपैयाँ उपलब्ध गराएका छन् ।
इसुको उपचारका लागि अस्ट्रेलियामा सन्तोषको पहलमा रकम संकलन भइरहेको छ । संकलन भएको रकम चरणबद्ध रुपमा पठाइने सन्तोषले बताए । उनले भने, ‘मेरो जन्मदिन जुलाई ३ मा हो । सो अवसर पारेर आफूले सक्ने सहयोग गरेको हुँ । यो पहिलो चरणको सहयोग हो ।’
साथीभाइहरुको सहयोगमा उहाँलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । कसैको दुखमा साथ दिन पाउँदा आनन्दित भएको छु, सन्तोषले भने ।
इशु गौतमलाई ४ वर्षको उमेरदेखिनै ब्लड क्यान्सर छ । उनको हाल काठमाडौंको कान्ती बाल अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि खर्च लाग्ने भएकाले उनीकी आमा सरिना गौतमले सहयोगको अपिल गरेकी हुन् ।






