
यस वर्षको छठ पर्वमा नेपाली समुदायका साथै विभिन्न सरकारी प्रतिनिधि, सामाजिक अभियन्ता तथा नेपाल र भारतका कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक उद्घाटन नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गानबाट गरिएको थियो । एएनटीएका महासचिव अञ्जु शाहले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष विकास झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्ट्रेलियाका सिनेटर डेभ शर्मा भिडियो सन्देशमार्फत सहभागी भएका थिए । क्यानबेरामा संसदीय कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले छठ पर्वको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, लेपिङटन क्षेत्रका सांसद नाथन ह्यागार्टी, क्याम्पबेलटाउन नगर परिषद्का उपमेयर मशूद चौधरी, एनआरएनए न्यू साउथ वेल्सका संयोजक उषा किरण बरिया पोखरेल, रोटरी डिस्ट्रिक्ट ९६७५ का सहायक गभर्नर तथा पूर्व संघीय निर्वाचन उम्मेदवार विनोद पौडेललगायतको उपस्थिति रहेको थियो ।यस वर्षको छठ पर्वमा लिभरपुल नगर परिषद् आधिकारिक प्रायोजकका रूपमा जोडिएको छ । सिड्नीमा आयोजना हुँदै आएको छठ पर्वको इतिहासमा पहिलो पटक स्थानीय नगर परिषद् आधिकारिक साझेदार बनेको आयोजकले जनाएको छ । परिषद्को सहकार्यका लागि लिभरपुलका लर्ड मेयर नेड मन्नुन तथा नगर परिषद्प्रति आयोजकले आभार व्यक्त गरेको छ ।
कार्यक्रममा नेपालबाट आएका गायक रविराज शाह र भारतकी गायिका प्रियंका सिंहले सांगीतिक प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रमसँगै ३० मिनेटको ढोल प्रस्तुति, खानाका स्टल तथा विभिन्न प्रायोजकका स्टलहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
छठ पर्वको मुख्य धार्मिक विधिअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका थिए । सूर्यदेव र छठी माताको पूजा, प्रसाद वितरण तथा धार्मिक अनुष्ठानमा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।एएनटीएका अध्यक्ष सुजित सिंहले कार्यक्रम समापनका क्रममा विगतका आयोजक समिति, वर्तमान समिति, स्वयंसेवक, कलाकार तथा प्रायोजकहरूलाई धन्यवाद व्यक्त गरेका थिए । उनले समुदायको सहयोग र सहभागिताले छठ पर्वलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रमलाई सफल बनाउन लिभरपुल नगर परिषद्, रेन एन्ड होर्न लिपिङटन अस्ट्रेल (डायमन्ड प्रायोजक), एटरनेक्स्ट, मार्कक्यू होम्स, गुर्खाज अटो रिपेयर्स, रिलायबल मोर्टगेज एन्ड फाइनान्स तथा शो ग्राउन्ड डेन्टल केयरलगायत संस्थाहरूले सहयोग गरेका थिए ।समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई जोड्दै सिड्नीमा सम्पन्न छठ पर्वले नेपाली समुदायको एकता र सांस्कृतिक निरन्तरताको सन्देश दिएको छ ।






