तक्दीर अधिकारी
सिड्नी । फिडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (फेनका)को दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुको साझा संगठन मानिएको फेनकाको साधारणसभाले डा. कृष्ण हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बोम योन्जन, महासचिबमा मधु पुडासैनी, सहसचिबमा दावा शेर्पा, कोषाध्यक्षमा राजन कोइराला र सहकोषाध्यक्षमा सुदीप श्रेष्ठ चयन भएका छन् । प्रवक्ता र सहायक प्रवक्ताको जिम्मेवारी पछि तोकिने छ ।I’m
नवनिर्वाचित महासचिव पुडासैनीका अनुसार राज्य संयोजकहरुमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीको लागि सुरज पौडेल, एनएसडब्लु विष्णु हमाल, भिक्टोरिया भोला गिरी, साथ अष्ट्रेलिया कपिल पाण्डे, वेस्ट अष्ट्रेलिया हरि प्रसाद अधिकारी, क्विन्सल्याण्ड सुमन जोशी, नर्दन टेरिटोरी राजन पौडेल र तास्मानियाको लागि मेघना राउत चयन भएका छन् ।
जेग लिम्बु संयोजक रहने गरी निर्वाचन मण्डल गरिएको थियो जसको सदस्यहरुमा कमलयन श्रेष्ठ, राजेन्द्र राजभण्डारी, आशिष सापकोटा रहेका थिए । उक्त कमिटिले नयाँ नेतृत्व चयन प्रक्रिया पूरा गर्दै नयाँ कार्यसमितिलाई शपथ समेत खुवाएका थिए ।
विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कम्युनिटी लिडर, अतिथि तथा सञ्चारकर्मीहरुसहित ७० जनाको उपस्थितीमा सोमबार सम्पन्न भएको उक्त साधारणसभामा फेनकाका निवर्चमान अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको प्रमुख आतिथ्यता तथा भिक्टोरिया र साउथ अष्ट्रेलियाका महावाणिज्य दूत क्रमशः चन्द्र योन्जन र दिपक धममाला लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत दाहालले फेनकाको सहायताले अष्ट्रेलिया र नेपालको सम्बन्ध मजबुत बनाउन सहज भएको भन्दै फेनका सँग काम गर्न पाउँदा आफूलाई पनि खुशी महसुस भएको बताए ।
कडा मिहेनतको निम्ती वर्तमान कार्यसमितिलाई धन्यवाद दिदै दुई बर्षको अवधिमा आफूसँग रहेर काममा साथ दिएकोमा समेत उनले धन्यवाद दिए । भिक्टोरियाका लागि महावाणिज्य दूत योन्जनले फेनकाको स्थापना र हालसम्मको यात्राको बारेमा जानकारी गराए । त्यस्तै साउथ अष्ट्रेलियाका महावाणिज्य दूत धमलाले नयाँ कार्यसमितिको निम्ती बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।
फेनकाका टास्कफोर्स संयोजकहरु, राज्य संयोजक, तथा सामुदायिक अगुवाहरुले सम्बोधन गरेको उक्त कार्यक्रममा समाजसेवी इन्द्रा बन, फेन्का एनएसडब्लु राज्य संयोजक विष्णु हमाल, भिक्टोरिया संयोजक भोला गिरी, साउथ अष्ट्रेलिया संयोजक दावा शेर्पा, फेन्का विधान समिति संयोजक उमेश पन्त लगायतले आफ्नो विभागको काम तथा प्रगतिको बारेमा व्रिफिङ गरेका थिए ।
कार्यक्रममा अध्यक्ष डा. अधिकारीले फेनका संस्था अष्ट्रेलियामा रहेका नेपालीहरुको हकहितको आवाज सरकारसामू पुर्याउने उद्धेश्यसहित स्थापना भएको जानकारी गराएका थिए । सरकारी संघसंस्थाहरुसँग नेपाली समुदायका विषयमा भइरहेका अर्थपूर्ण वार्ताहरु, उनीहरुले बनाएका नितीहरुको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै संस्थाका संरक्षक जानकी पौडेलले फेनकाले हालसम्म गरेको प्रगतिको सराहना गर्दै आगामी दिनमा समानता, घरेलु हिंसा तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न समेत आग्रह गरिन् । पत्रकारहरुको तर्फबाट एन्जाका अध्यक्ष ऋषि आचार्य, एसबीएस नेपाली रेडियोका कार्यकारी सञ्चालक राजेश अर्याल लगायतले पनि कार्यक्रममा आफ्नो भनाई राखे ।
कार्यक्रममा नेप्लिज अष्ट्रेलियन एसोसियसनका मधुसुधन पुडासैनी, ओसनिया नेप्लिज स्पोर्ट्स मिटका जविन श्रेष्ठ, एपीङ उलर्ट नेप्लिज कम्युनिटीका रोशन उपाध्याय, असमेद फाउन्डेशनका डा. कुश श्रेष्ठ, दिदी बहिनी समाज भिक्टोरियाबाट जमुना पराजुली, अष्ट्रेलिया नेपाल पब्लिक लिंकका निरन्जन गौली, नेप्लिज एसोसियसन क्विन्सल्याण्डका डा. देवराज पौडेल, नेप्लिज नर्स एसोसियसनका दिलीप गिरी, अष्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसियसनका पूनम पन्त, नेप्लिज पेन्सर्स्ट कमयुनिटीका लक्ष्मण श्रेष्ठ, नेपाली सोसाइटी तास्मानियाका मेघना राउत, रुपन्देही सोसल नेटवर्कका मुक्तिराम पोखरेल,अष्ट्रेलिया नेपाल फ्रेन्डसिपका डा. दुर्गादत्त कंडेल लगायत गरी १५ सामुदायिक संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
संस्थाका निवर्तमान महासचिब तथा नयाँ निर्वाचित अध्यक्ष डा. कृष्ण हमालको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान प्रवक्ता तथा निर्वाचित उपाध्यक्ष बोम योन्जनले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।
सिड्नीमा भौतिक रुपमै भव्य रुपमा साधारण सभा सम्पन्न गर्ने भनिएपनि कोरोनाको कारण भर्चुअल रुपमा सम्पन्न गरिएको हो ।






