लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आयोजनामा लन्डनमा गर्ने भनेको आमरण अनसन केही समयका लागि स्थगन गरिएको छ ।
निवृत्तिभरण,क्षतिपूर्ति लगायतका विभिन्न माग हरु गर्दै यसअघि जुन १५ मा व्रिटिश प्रधानमन्त्री कार्यालय घेराउ गरेका उनीहरुले आजकै दिन अर्थात जुलाई १ देखि भोक हड्ताल गर्ने चेतावनी दिएका थिए । तर आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि आमरण अनसन आउंदो जुलाइ २१ अर्थात साउन ६ गतेसम्म स्थगन गरेको हो ।
सत्याग्रहलाई नेपाल सरकारले एक पत्र लेख्दै उनीहरुका मागहरु सम्बोधन गर्न पहल गर्ने जानकारी दिएसँगै तत्कालको लागि हड्ताल रोकिएको हो । तर, बेलायत सरकारले वेवास्ता गरे पूर्व निर्धारित कार्यक्रम फेरि सुचारु गरिने सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै उनले व्रिटिश सरकारले आफ्ना मागहरुको विषयमा चासो नदेखाए अनशन गर्ने बताए । उनले भने, ‘हामी जुलाई १ गतेबाटै भोक आन्दोलन गर्न लागेका थियौँ, तर नेपाल सरकारले सहमतिको पहल गर्दै पत्राचार गरेपछि तीन हप्ताको लागि स्थगन गर्याैँ ।’
यसअवधिमा फेरी सरकारलाई झकझकाउने भन्दै उनले अझै पनि सुनुवाई नभए निर्धारित आन्दोलनहरु शुरू गर्ने बताए । नेपाल सरकारले पठाएको पत्रमा आफ्ना मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न नेपाल सरकारले पहल गरिरहेको जानकारी पाएको संघर्ष समितिद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले जुलाइ २१सम्म बेलायतबाट कुनै प्रतिक्रिया नआए प्रधानमन्त्री कार्यालय अगाडि सत्याग्रह र अन्य कार्यक्रम गर्न बाध्य हुने दोहोरयाएको छ । सत्याग्रहले यसअघि १५ दिने भोक हडताल गर्ने तय गरेको थियो । गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंग र पुष्पा राणा घले आमरण अनसनमा बस्न राजी भएका थिए । भूतपूर्व गोर्खाहरुले अबको आन्दोलन निर्णायक हुने दावी गर्दै आएका छन् ।
अनशन रोकिएपनि सत्याग्रह समितिले आज लण्डनमा विशाल प्रदर्शन भने गर्ने भएको छ । सेन्ट्रल लन्डनस्थित गोर्खा स्मारक अगाडिबाट बिहान साढे ११ बजे जुलुस शुरु हुने जनाउदै संयोजक राईले तीन हप्ताको समयसम्म बेलायत सरकारलाई झकझकाउने बताए ।
गोर्खाहरूले अन्य बेलायती सिपाहीसरह दर्जाअनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरूलाई एक पटकका लागि एकमुष्ट रकम दिइनुपर्ने, दर्जा र सेवाको अवधिअनुसार अन्यायको क्षतिपूर्ति पाउनुपर्ने, नियमित सेवापश्चात् निवृत्त वा बर्खास्त भएका तर हाल मृत्यु भइसकेका बेलायती गोर्खाका छोराछोरीहरूले सद्भावना भुक्तानी (गुडवील पेमेन्ट) पाउनुपर्ने लगायतका माग राख्दै गोर्खाहरु आन्दोलन गरिरहेका छन् ।






