न्युकासलमा नेपाली समुदायको स्वयंसेवा सम्मानित, किशोर शाहीलाई प्रतिष्ठित पुरस्कार

न्युकासल। अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित न्युकासल क्षेत्रमा नेपाली समुदायले गर्दै आएको सामाजिक तथा सामुदायिक सेवाको उच्च मूल्याङ्कन भएको छ। न्युकासल क्षेत्रकी सङ्घीय सांसद तथा अस्ट्रेलियाली प्रतिनिधिसभाकी उपसभामुख श्यारोन क्लेडनद्वारा आयोजित ‘न्युकासल स्वयंसेवा सेवा पुरस्कार समारोह २०२६’ मा नेपाली समुदायका स्वयंसेवक किशोर शाही सम्मानित भएका छन्।नेप्लिज इन न्युकासल’ (एनआईएन) मा आबद्ध शाहीलाई सांस्कृतिक तथा बहुसांस्कृतिक संस्था विधाअन्तर्गत समुदायप्रतिको निरन्तर समर्पण, निःस्वार्थ सेवा र सूचना प्रवाहमा पुर्‍याएको योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो।

सांसद श्यारोन क्लेडनको कार्यालयबाट जारी प्रशंसापत्रमा शाहीले न्युकासलमा बसोबास गर्ने नेपाली समुदायलाई सामुदायिक सूचना मञ्चमार्फत नियमित रूपमा उपयोगी जानकारी र अद्यावधिक सूचना उपलब्ध गराउँदै आएको उल्लेख छ। विशेषगरी नयाँ आउने नेपाली विद्यार्थी तथा आप्रवासीलाई स्थानीय समुदायसँग परिचित गराउने, विभिन्न अवसर र गतिविधिबारे जानकारी दिने तथा आपसी सम्पर्क र सम्बन्ध विस्तारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रशंसापत्रमा उल्लेख गरिएको छ।समुदायका सदस्यका जिज्ञासा र आवश्यकतामा सक्रिय रूपमा सहयोग गर्दै नवआगन्तुकलाई नयाँ ठाउँमा घुलमिल हुन सहज बनाएको उनको योगदानको समेत समारोहमा प्रशंसा गरिएको थियो।

न्युकासलमा विस्तार हुँदै नेपाली समुदाय

पछिल्ला वर्षहरूमा न्युकासल र आसपासका क्षेत्रमा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी उच्च शिक्षा, रोजगारी र पारिवारिक बसोबासका कारण नेपाली विद्यार्थी तथा परिवारहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्।न्युकासल विश्वविद्यालय र टीएएफई एनएसडब्ल्यूलगायतका शैक्षिक संस्थामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूले यहाँको समुदाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। अध्ययनपछि स्वास्थ्य सेवा, आतिथ्य, ज्येष्ठ नागरिक सेवा, अपाङ्गता सहयोग तथा निर्माण क्षेत्रलगायत विभिन्न पेशामा नेपालीहरूले आफ्नो उपस्थिति स्थापित गर्दै आएका छन्।

सुरुमा सानो समूहमा सीमित रहेको न्युकासलको नेपाली समुदाय अहिले संगठित र सक्रिय सामुदायिक पहिचानका रूपमा विकसित हुँदै गएको छ। दशैँ, तिहार, तीज, नेपाली नयाँ वर्ष तथा बुद्ध जयन्तीजस्ता पर्व सामूहिक रूपमा मनाउनुका साथै रक्तदान, विपद्का समयमा सहयोग र नयाँ आउने विद्यार्थीलाई आवास तथा रोजगारीसम्बन्धी जानकारी उपलब्ध गराउने काममा स्थानीय संस्थाहरू सक्रिय छन्।

‘नेप्लिज इन न्युकासल’ लगायतका सामुदायिक संस्थाले नेपालीहरूबीच सम्पर्क र सहकार्य बढाउन तथा नयाँ सदस्यलाई स्थानीय समाजसँग जोड्न सहयोग गर्दै आएका छन्।किशोर शाहीले प्राप्त गरेको यस सम्मानलाई न्युकासलमा नेपाली समुदायले स्वयंसेवा, सामाजिक सहकार्य र बहुसांस्कृतिक समाज निर्माणमा पुर्‍याउँदै आएको योगदानको कदरका रूपमा हेरिएको छ। यसले नेपाली समुदायको सकारात्मक पहिचान र अस्ट्रेलियाली समाजमा बढ्दो सहभागितालाई थप उजागर गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *