यस वर्षको महोत्सवमा नेपाली र अस्ट्रेलियाली राष्ट्रिय झण्डासहितको विशेष परेड मुख्य आकर्षणका रूपमा रहनेछ। परेडमा एक हजार नेपाली र एक हजार अस्ट्रेलियाली झण्डा प्रदर्शन गरिनेछ। यसमार्फत दुई देशबीचको मित्रता, पारस्परिक सम्मान र नेपाली समुदायको अस्ट्रेलियाप्रतिको कृतज्ञता व्यक्त गरिने आयोजकको भनाइ छ।परेडको अगाडि ‘THANK YOU AUSTRALIA’ अर्थात् ‘अस्ट्रेलियालाई धन्यवाद’ लेखिएको ब्यानर राखिनेछ। नेपाललाई विभिन्न समयमा सहयोग र सद्भाव प्रदान गर्दै आएको अस्ट्रेलियाप्रति आभार प्रकट गर्ने उद्देश्यले यस्तो सन्देश समावेश गरिएको हो।बिहान १० बजे सिड्नीको टाउन हलबाट सुरु हुने परेड विभिन्न सांस्कृतिक झाँकी र परम्परागत बाजागाजासहित टम्बालोङ पार्क पुग्नेछ। परेडमा नेपाली समुदायका विभिन्न जातजाति र संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक पोसाक, सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा र धिमे बाजाको सहभागिता रहनेछ। दुई देशका झण्डाको संयुक्त प्रदर्शनले नेपाली समुदायको सांस्कृतिक पहिचानसँगै अस्ट्रेलियासँगको आत्मीय सम्बन्ध पनि उजागर गर्ने अपेक्षा गरिएको छ। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र दुई देशबीचको सम्बन्धबारे परिचित गराउने लक्ष्यसमेत राखिएको छ।

एनआरएनए एनएसडब्ल्यूका सहसचिव विजय घिमिरेले महोत्सवमा रहने खानाका परिकार तथा अन्य प्रदर्शनी कक्षबारे जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा) ले सहयोगी संस्थाका रूपमा सहकार्य गरेको थियो।
चर्चित कलाकार प्रकाश सपूत र रचना रिमालको सांगीतिक प्रस्तुति
महोत्सवमा लोकप्रिय गायक प्रकाश सपूत र गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। उनीहरूको प्रस्तुतिले कार्यक्रममा थप उत्साह र सांगीतिक रौनक थप्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार प्रकाश सपूतले महोत्सवको मञ्चबाट तिहारको देउसी–भैलोसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नेपाली लोकसंस्कृति र चाडपर्वको झल्को दिने यस्ता प्रस्तुतिले प्रवासमा रहेका नेपालीलाई आफ्नै गाउँघरको सम्झना गराउने विश्वास गरिएको छ।
नोभेम्बर ७ शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा दिनभर सांस्कृतिक, मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ।‘नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको महोत्सवमा नेपालको कला, संस्कृति, पर्यटन, खानाका परिकार, भेषभूषा र मौलिक पहिचानलाई एउटै स्थलमा प्रस्तुत गरिनेछ।‘अस्ट्रेलियालाई धन्यवाद’ भन्ने सन्देशसहितको परेडले यस वर्षको महोत्सवलाई सांस्कृतिक उत्सवका साथै दुई देशबीचको मित्रता र नेपाली समुदायको कृतज्ञता अभिव्यक्त गर्ने साझा अवसरका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।आयोजकले सिड्नीसहित अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई परिवारका साथ महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्।






