– शिव भण्डारी
लन्डन नेपाल न्यूज
लन्डन । नेपाल रन यूकेले आयोजना गरेको पाँचौँ संस्करणको ‘एइएसएन नर्थहोल्ट १० के रन’ सम्पन्न भएको छ। आइतबार बिहान लन्डनको नर्थहोल्टस्थित नर्थला फिल्ड्स, नर्थहोल्ट पार्कमा आयोजित प्रतियोगितामा भर्चुअलसहित करिब ६०० धावकले सहभागिता जनाएका थिए।
प्रतियोगिताको पुरुषतर्फ ब्रिटिस आर्मीको गोर्खा सिग्नल्समा कार्यरत रोशन थापा मगर प्रथम भएका छन्। उनले १० किलोमिटरको दूरी ३१ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्। त्यसैगरी, महिलातर्फ लन्डन नर्थहोल्टकी अन्जु रेग्मी सिग्देल प्रथम भएकी छन्।
दौड सुरु हुनुअघि कोच आत्माराम दाहालले सहभागी धावकहरूलाई वार्म–अप अभ्यास गराएका थिए। गोरखाली सेनाका पाइपर प्रताप गुरुङको पाइपर धुन र आत्माराम दाहालको शङ्ख ध्वनिसँगै प्रतियोगिताको सुरुवात गरिएको थियो।
यस संस्करणमा बालबालिकाका लागि दुई किलोमिटर दौडसमेत समावेश गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाल रन यूकेका सचिव डा. जगन कार्कीले नेपाल रन यूके ‘यूके एथलेटिक्स’ मा दर्ता भएको र विदेशमा रहेका नेपालीहरूले सञ्चालन गरेको विशिष्ट दौड क्लबका रूपमा स्थापित भएको बताए।
उनले संस्थाले नेपाली समुदायलाई एकताबद्ध गर्दै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्नुका साथै परोपकारी गतिविधिसमेत सञ्चालन गर्दै आएको उल्लेख गरे।
नेपाल रन यूकेका संस्थापक सन्तोष राईले प्रतियोगिता केवल दौडमा सीमित नभई समुदायलाई सक्रिय, स्वस्थ र एकताबद्ध बनाउन प्रोत्साहित गर्ने अभियान भएको बताए।
स्वास्थ्य सचेतना, सामुदायिक एकता र नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नर्थहोल्ट १० के रनले बेलायतस्थित नेपाली समुदायमा दौड संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपालका चर्चित धावक एवं प्रशिक्षक तथा दुई पटकका ओलम्पियन हरि रोकायाको विशेष उपस्थिति रहेको थियो। रोकायाले एभरेस्ट म्याराथनमा लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत समावेश छ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत विपिन दुवाडीले सहभागी सम्पूर्ण धावकलाई शुभकामना दिँदै खेलकुदले स्वास्थ्य, अनुशासन र सामुदायिक एकता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
नेपाल रन यूकेका कोषाध्यक्ष रविन्द्र अधिकारीले प्रतियोगितालाई विभिन्न संघसंस्था तथा व्यवसायीले सहयोग गरेको जानकारी दिँदै सम्पूर्ण प्रायोजकप्रति आभार व्यक्त गरे।
प्रतियोगिताका मुख्य प्रायोजक एइएसएन रहेको थियो। अन्य प्रायोजक तथा सहयोगी संस्थामा बुद्ध मोर्गेज,रियल ड्रिम्स, एनबीसी यूके, एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्, किरात राई यायोक्खा लन्डन, नेपाली साइकलिङ क्लब,एसएनपी अकाउन्टिङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सरोज फिजियो (आधिकारिक फिजियोथेरापी पार्टनर), एकुरिष्ट अकाउन्टिङ र मेक्सवर्थ अकाउन्टिङलगायत रहेका थिए।
थप विवरण आउन बाँकी छ। अपडेटका लागि हामीसँगै जोडिइरहनुहोला।—-






