डार्विनमा एन्जाको सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न

डार्विन । अष्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) को आयोजनामा डार्विनस्थित जिङ्गिली पार्कमा नेपाली समुदायसँग सामुदायिक परामर्श तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार, १८ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा डार्विनमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य नेपाली समुदायका आवश्यकता, चासो र सरोकारबारे प्रत्यक्ष छलफल गर्नुका साथै समुदाय र सञ्चारकर्मीबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु थियो। दसैँको अवसरमा शुभकामना साटासाट गर्दै प्रवासमा नेपाली भाषा, संस्कृति र सामुदायिक एकतालाई निरन्तरता दिने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता एन्जाका अध्यक्ष कृष्ण तिवारीले गरेका थिए भने सञ्चालन कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य सबिन बरालले गरेका थिए। एन्जाका महासचिव गणेश भट्टले संस्थाको परिचय, उद्देश्य र गतिविधिबारे जानकारी दिँदै नेपाली समुदायका सवाललाई सञ्चारमाध्यममार्फत उठाउन संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारेका थिए।कार्यक्रममा समुदायका सदस्यहरूले आफ्ना जिज्ञासा, प्रश्न तथा विभिन्न सरोकार राख्न पाउने गरी विशेष प्यानल छलफल आयोजना गरिएको थियो। प्यानलमा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक चिरञ्जीवी राज देवकोटा, संस्थापक अध्यक्ष हेमन्त काफ्ले र सल्लाहकार डा. राजु मानन्धर सहभागी थिए। छलफलमा समुदायका प्रश्नहरूको जवाफ दिँदै नेपाली समुदायका समस्या र आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सञ्चारमाध्यम तथा सामुदायिक संस्थाबीच सहकार्य आवश्यक रहेको विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा एनआरएनए–एनटीका संयोजक त्रिलोचन सापकोटा, नान्टका अध्यक्ष भवानी पौडेल, सामाजिक कल्याण समितिका अध्यक्ष बाबुराम भट्टराई, डार्विन हार्ट्स फुटबल क्लबका अध्यक्ष फिरोज राना तथा एनआरएनए एनसीसीका सदस्य पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।त्यसैगरी एनआरएनए–एनटी तथा नान्टका पूर्वअध्यक्षहरू विष्णु चापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायत सामाजिक अगुवा तथा समुदायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमले डार्विनमा रहेका नेपाली समुदायका सदस्यहरूलाई आफ्ना विचार र सरोकार प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले यस्ता संवादले समुदायका आवश्यकता बुझ्न, पत्रकारिता र सामुदायिक संस्थाबीच सहकार्य बढाउन तथा नेपाली समुदायका आवाजलाई प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने धारणा राखेका थिए।कार्यक्रम सफल बनाउन सहयोग गर्ने समुदायका सदस्य, संघसंस्थाका प्रतिनिधि, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति एन्जाले आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि नेपाली समुदायका सवाल, आवश्यकता र आवाजलाई प्राथमिकता दिँदै सामुदायिक संवाद तथा सहकार्यका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *