लन्डन । गिनिज वर्ल्ड रेकर्डधारी तथा दुईपटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेका चर्चित लामो दूरीका धावक हरि रोकाया बेलायत आइपुगेका छन्।
आगामी आइतबार, नोभेम्बर १ तारिखमा आयोजना हुने पाँचौँ एईएसएन (AESN) नर्थोल्ट १० के दौड कार्यक्रममा सहभागी हुन रोकाया लन्डन आइपुगेका हुन्।
उच्च हिमाली क्षेत्रमा दौड प्रशिक्षण दिने अनुभवी प्रशिक्षकसमेत रहेका रोकायालाई लन्डन आगमनका क्रममा क्लबका सदस्यहरूले न्यानो स्वागत गरेका थिए।
रोकायालाई काठमाडौंदेखि लन्डनसम्म साथ दिएर ल्याउने क्लबका सक्रिय सदस्य खेमराज जोशीप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।
उनको स्वागतका लागि क्लबका सदस्यहरू विष्णु देवान, उदेश देवान, प्रिङ्ला राई तथा क्लबका पूर्वअध्यक्ष पाण्डव महतो उपस्थित थिए।
यसैबीच, रोकायाले बिहीबार रुइस्लिप ट्र्याकमा आयोजना हुने क्लबको नियमित प्रशिक्षण सत्रको निरीक्षण तथा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ।
उक्त प्रशिक्षण सत्रमा सहभागी भएर विश्व कीर्तिमानी धावक तथा अनुभवी प्रशिक्षकबाट दौडसम्बन्धी ज्ञान र अनुभव हासिल गर्न क्लबले सबै इच्छुक धावक तथा खेलप्रेमीहरूलाई आमन्त्रण गरेको छ।
पाँचौँ एईएसएन नर्थोल्ट १० के दौडमा रोकायाको उपस्थितिले बेलायतस्थित नेपाली धावक तथा खेलप्रेमी समुदायमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।






