लन्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपाङ्गता दिवसको अवसर पारेर आगामी ६ डिसेम्बर २०२६, आइतबार बेलायतमा विशेष परोपकारी (च्यारिटी) कार्यक्रम आयोजना गर्ने भएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, अधिकार, समान अवसर, समावेशिता तथा सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्यले समाजले लेस्टरसायरस्थित मार्केट हार्बरोमा कार्यक्रम आयोजना गर्न लागेको हो।
समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमलाई सफल बनाउन बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेकी छन्।
अध्यक्ष खरेलले यो कार्यक्रम गुल्मी जिल्ला समाज यूकेको मात्र नभई अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारप्रति सम्मान, माया, सहयोग तथा ऐक्यबद्धता प्रकट गर्ने महत्वपूर्ण मानवीय अभियान भएको बताएकी छन्।
उनले संस्थाका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, ट्रस्टी, सल्लाहकार, आजीवन सदस्य तथा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई समय मिलाएर कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेकी छन्।
कार्यक्रमको संयोजन समाजका प्रवक्ता तथा युवा व्यवसायी सुरेश केसीले गरेका छन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान र सहयोगका लागि आयोजना गर्न लागिएको यस परोपकारी च्यारिटी कार्यक्रममा सहभागी भई सहयोग गर्न सम्पूर्ण गुल्मेलीहरूलाई हार्दिक अपिल गर्दै निमन्त्रणा गरेका छन्।
कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहको विशेष सांगीतिक प्रस्तुति पनि रहने छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय नौमती बाजा समूहको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने छ।
कार्यक्रममा सहभागी हुन वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड प्रवेश शुल्क निर्धारण गरिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। प्रवेश शुल्कमा खानासमेत समावेश गरिएको छ।कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
समाजले अपाङ्गता दिवसलाई अर्थपूर्ण र स्मरणीय बनाउन बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई एकजुट हुन आह्वान गरेको छ।







