संशोधन प्रस्ताव पारित हुन सक्दैन : कमल थापा

काठमाडौं–सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष थापाले संसदबाट पारित नहुने विधेयक छलफल नै गर्न नदिएर प्रमुख प्रतिपक्षी एमालेले गल्ती गरेको टिप्पणी गरे । मंगलबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारले संसदमा दर्ता गराएको विधेयकमाथि छलफल नै गर्न नदिएर प्रतिपक्ष एमालेसहितका दलहरुले मुलुकमा मुडभेढ निम्त्याउन खोजेको आरोप समेत लगाए ।

उनले नयाँ शिराबाट छलफल गरी संविधान संशोधन प्रस्ताव संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए । संविधान संशोधनका केही बुदा राष्ट्रहित विपरित रहेको र त्यसलाई सच्याउन सबै दलहरुबीच नयाँ शिराबाट छलफल हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष थापाले राजनीतिक नेतृत्व एकतावद्ध नभए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए ।

अध्यक्ष थापाले मुलुकलाई विखण्डनतर्फ लैजानेहरु सल्बलाईरहेको उल्लेख गर्दै सचेत भएर अघि बढनुपर्नेमा पनि जोड दिए । यसअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधन प्रस्ताव आफूहरुको सहमति बिनै आएको भन्दै सघाउन नसकिने बताएको थियो ।