आमाको किरिया बसेका गुल्मेली दुई बालिकालाई २ लाख सहयोग

गुल्मी– आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह–१ जुम्लीचौरका दुई बालिकाका लागि थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वान्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौंमा संकलन गरेको २९ हजार रुपैयाँ ती बालिकालाई सहयोग गरिएको हो । रकम मंगलबार काठमाडौंमा एक समारोहकाबीच गुल्मीका सांसद गोकर्ण विष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सांसद विष्टले बालिकालाई पठनपाठनको व्यवस्था मिलाउने घोषणा गरे । आर्थिक अवस्था कमजोर भएको कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाइएको थियो ।

३६ वर्षीय दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर ३ गते मृत्यु भएपछि १३ वर्षीया संगीता र ११ वर्षीया रमिता किरिया बसेकी थिइन् । बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन् ।

यसअघि ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ सहयोग गरेका थिए ।