कहाँ छन् आठ लाख त्रिपाल?

काठमाडौं । शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरूले दुई साताभित्र साढे आठ लाख थान टेन्ट, त्रिपाल र तारपोलिन भित्र्याएका छन् ।

तर ती सामान भूकम्पपीडित नागरिकले सहजै बजारबाट सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ।

सरकारले नागरिकलाई सहुलियत दरमा टेन्ट र त्रिपाल खरिद गर्न दिने सुविधा दिए पनि व्यवसायीले त्यसको दुरुपयोग गरेका छन्।

केही स्थानमा व्यवसायीले त्रिपाल र पाल लुकाएको घटना बाहिर आएको छ। यसले भन्सार छुटमा भित्र्याएको त्रिपाल र पालमा कतिपय व्यवसायीले बढी मूल्य असुली कालोबजारी गरेको पाइएपछि आइतबार भन्सार विभागले त्यस्ता व्यवसायीमाथि निगरानी राख्न पत्राचार गरेको छ।

व्यापारीले त्रिपाल र टेन्ट सहजै नदिई लुकाएको आशंकामा स्थानीयले राजधानीकै बालाजु, थलीलगायतका स्थानमा पसल कब्जामा लिने प्रयास गरेपछि प्रहरी परिचालन गर्नुपरेको घटनालाई समेत आधार बनाई भन्सार विभागले यस्तो पत्राचार गरेको हो।

भन्सारको पत्रमा तीन सय ३४ वटा व्यापारिक कम्पनी तथा फर्ममाथि निगरानी राख्न भनिएको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।