‘ह्याप्पी डेज’ युनिट दूतावासमा

लन्डन– बेलायतमा छायांकन भइरहेको नेपाली चलचित्र ‘हयाप्पी डेज’ युनिटलाई लन्डनस्थित नेपाली दूतावासले स्वागत गरेको छ । शनिबार दूतावास भवनमा चलचित्रकर्मीको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले रात्री भोज आयोजना गरे ।

दूतावासमा आयोजित स्वागत समारोहमा नायिका प्रियंका कार्की, नायक सन्जय गुप्ता, फिल्म निर्देशक मिलन चाम्स, निर्माताहरु बी पी खनाल, विक्रम जोशी, नरेश शर्मा र डा. अशोक बन्साल, नेपालबाटै आएका सञ्चारकर्मी नरेश भट्टराई, प्राविधिकहरु, मेक अप आर्टिष्ट, स्थानीय कलाकार, सपन इन्टरटेन्मेन्टकी मन्जु गुरुङ राई, प्रशान्त थापा लगायत सहभागी थिए । कार्यक्रममा राजदूतावास परिवार पनि सहभागी थिए ।

कार्यक्रममा राजदूत डा. सुवेदीले आफूले हरेक नेपाली फिल्म हेर्न नछुटाएको बताए । यसैगरी सञ्चारकर्मी नरेश भट्टराईले कविता सुनाए भने सन्जय गुप्ताले फिल्म डायलग सुनाएका थिए ।