रौतहट- रौतहटमा १ सय ९८ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । नेपाली जनता दलका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हरिचरण साहसहित १ सय ९८ जनाको जमानात जफत भएको छ ।
२०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका साहले यसपटकको निर्वाचनमा ३ सय ३८ मत प्राप्त गरेपछि जमानत जफत भएको छ ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनपछि सभासद् बनेका बबन सिंहको समेत यसपटकको निर्वाचनमा जमानत जफत भएको छ । उनले १६ सय ६९ मत पाएका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार बबन सिंह २०६४ सालको निर्वाचनमा विजयी भएका थिए ।
साह र सिंह मात्र हैन रौतहटका १ सय ९८ जना उम्मेदवारको जमानात जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । रौतहटको चार प्रतिनिधि सभा र ८ प्रदेशसभाको निर्वाचन क्षेत्रका लागि २ सय ३५ जनाको उम्मेदवारी रौतहटमा परेको थियो ।
प्रतिनिधि सभाको चार वटै निर्वाचन क्षेत्रका ९२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जसमा ८० जनाको जमानात जफत भएको छ भने प्रदेश सभाको ८ निर्वाचन क्षेत्रका लागि १ सय ४२ जनाको उम्मेदवारी रहेपनि १ सय १८ जनाको उम्मेदवारको जमानत जफत भएको छ ।
रौतहटमा नेपाली कांग्रेस, वाम गठबन्धनका एमाले र माओवादी केन्द्र, मधेसवादी दलको गठबन्धनका राजपा नेपाल र सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ ।
नियमानुसार सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएमा जमानत जफत हुने प्रावधान छ । सदर मतको १० प्रतिशत मत नल्याउने अधिकांश नेताहरूको उम्मेदवारी बापत राखेको धरौटी रकम समेत जफत हुने प्रावधान छ ।






