काठमाडौँ- ‘गोरखा भूकम्प’को नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ ।
सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ तर पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नागरिक तहबाट पनि सरकारलाई सहयोग गर्ने ढङ्गले नै काम भइरहेको छ ।
जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’मा विद्यावारिधि गर्नुभएका र अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहनुभएका काभ्रेपलान्चोक देउपुरका शङ्कर ढकाल भूकम्पबाट क्षति भएका संरचनालाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान बाँड्दै हिँड्नु भएको छ ।
काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रुपमा विकास गर्न उहाँले यतिखेर हाल अष्ट्रेलियामा सहप्राध्यापक रहनुभएका उहाँको सहकर्मी डा हिङ हो तेस्याङ लिले हङकङमा सन् २००७ मा पत्ता लगाउनु भएको रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सार्नुभएको छ ।






