लण्डन — नेपाली समुदायका लागि गर्वको क्षणका रूपमा लिइएको एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। एक नेपाली खेलाडीले बेलायतमा आयोजित प्रतिष्ठित Ironman Leeds प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम इतिहासमा दर्ज गराएका छन्।
सन्तोष राई पहिलो नेपाली हुन् जसले विश्वका ६ वटा प्रतिष्ठित मेजर म्याराथन पूरा गरेका छन्।
सन्तोष राई विश्वकै कठिनमध्ये एक मानिने यस प्रतियोगितामा ३.८ किलोमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४२.१९५ किलोमिटर म्याराथन समावेश रहेको थियो। यद्यपि, पानीको सुरक्षासम्बन्धी चिन्ताका कारण पौडी चरण रद्द गरिएपछि प्रतियोगिता साइक्लिङ र दौडमा सीमित भएको थियो।
कठिन भू-भाग र चुनौतीपूर्ण अवस्थाबीच उनले अद्भुत प्रदर्शन गर्दै आफ्नो उमेर समूहमा दोस्रो स्थान हासिल गरे भने समग्र प्रतिस्पर्धामा ५१औं स्थानमा रहन सफल भए।
यस उपलब्धिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यही प्रतियोगितामार्फत उनले पहिलो प्रयासमै विश्वप्रसिद्ध Ironman World Championship, Kona (Hawaii) का लागि छनोट हुन सफल हुनु हो।
यससँगै उनी कोना विश्व च्याम्पियनसिपका लागि छनोट हुने पहिलो नेपाली तथा पहिलो लण्डन बस चालक बनेका छन्, जुन सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।
उनले आफ्नो सफलताप्रति खुशी व्यक्त गर्दै भने, “समर्पण, निरन्तर मेहनत र अनुशासन भए असम्भव केही छैन भन्ने सन्देश दिन चाहन्छु। मेरो यात्रा अरूका लागि प्रेरणा बन्ने विश्वास लिएको छु।”
उनको यो ऐतिहासिक उपलब्धिले खेलकुद क्षेत्रमा मात्र होइन, विदेशमा रहेका नेपालीहरूको पहिचान र गौरवलाई समेत उचाइमा पुर्याएको छ।







