फेन्काको आयोजनामा सामुदायिक नेतृत्व, स्वास्थ्य र विकासबारे संवाद

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित रकडेलमा वरिष्ठ स्वास्थ्य तथा विकास अभियन्ता डा. शान्तलाल मुल्मीसँग सामुदायिक नेतृत्व, स्वास्थ्य तथा सामाजिक विकासका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का) न्यू साउथ वेल्सको आयोजनामा १० अक्टोबर २०२६, शनिबार सम्पन्न कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, प्राध्यापक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा डा. मुल्मीले दक्षिण एसियामा सामुदायिक विकास, स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा भएका पहल तथा अनुभवबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। विशेषगरी नेपालमा भएका सामुदायिक प्रयास र तिनको प्रभावबारे छलफल गर्दै सहभागीहरूले दिगो विकास, सामाजिक उत्तरदायित्व र समुदायको हितमा सहकार्यको आवश्यकताबारे विचार राखेका थिए।कार्यक्रमको अध्यक्षता फेन्का अष्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनीले गरेका थिए भने सञ्चालन फेन्का न्यू साउथ वेल्सका उपसंयोजक चिरन तिवारीले गरेका थिए। स्वागत मन्तव्य राख्दै फेन्का न्यू साउथ वेल्सका संयोजक मुक्तिराम पोखरेलले कार्यक्रमको उद्देश्य र सामुदायिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान गर्नुको महत्त्वबारे प्रकाश पारेका थिए।

डा. मुल्मीको प्रस्तुतिपछि प्राध्यापक, पत्रकार तथा वरिष्ठ समाजसेवी डा. राजु मानन्धरले टिप्पणी तथा सहजीकरण गरेका थिए। त्यसपछि भएको छलफलमा सहभागीहरूले स्वास्थ्य सेवामा पहुँच, सामुदायिक संस्थाहरूको भूमिका, नेतृत्वको प्रभावकारिता र विभिन्न संस्थाबीच सहकार्य विस्तार गर्नुपर्ने विषयमा आफ्ना अनुभव साझा गरेका थिए।कार्यक्रममा नेपाली सिनियर सोसाइटी अष्ट्रेलियाका अध्यक्ष डा. नारायण प्रधान, प्राध्यापक डा. ध्रुव वश्याल,साहित्यकार एवं लेखक दयाराम सिखडा,  हिड्स नेपालका कार्यकारी संस्थापक प्रतापराज वन्त, गुठी अष्ट्रेलियाका सांस्कृतिक सचिव श्याम सैजु, आरएसएनए अष्ट्रेलियाका महासचिव कमल चापागाईं, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नीकी पूर्वअध्यक्ष ममता तिवारी, स्वास्थ्यकर्मी तीर्थराज गुरागाईं, पिक रियल्टीका सञ्चालक राजु खनाल, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष चतुरभुज खरेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

त्यसैगरी एभरेष्ट कम्युनिकेसनका सञ्चालक एवं समाजसेवी युवराज भहराई, अभिभावक तथा समाजसेवी टीका गिरी, महिला अभियानकर्मी स्तुति मुल्मी र राजेन्द्र भण्डारीलगायत सहभागीहरूले सामुदायिक विकासका अवसर र चुनौतीबारे धारणा राखेका थिए।कार्यक्रम सम्पन्न गर्न रकडेलस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका शाखा प्रबन्धक ऋतु अर्याल र आकाशजीले सहयोग गरेका थिए। सोही संस्थाको कार्यालयमा आयोजित कार्यक्रमको समापनमा फेन्का अध्यक्ष डा. मधु पुडासैनीले सामुदायिक विकासका सम्भावना र चुनौतीबारे चर्चा गर्दै सहभागी तथा सहयोगीप्रति आभार व्यक्त गरेका थिए।कार्यक्रमले अष्ट्रेलियामा क्रियाशील नेपाली संघसंस्थाका अगुवाहरूबीच अनुभव आदानप्रदान र सम्भावित सहकार्यका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रियाले संस्थाहरूबीचको सम्बन्ध बलियो बनाउन र सामुदायिक विकासका साझा लक्ष्यमा सहकार्य बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *