डार्विन । अष्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) को आयोजनामा डार्विनमा नेपाली समुदायसँग अन्तरक्रिया तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। आगामी आइतबार, १८ अक्टोबर २०२६ मा आयोजना हुने कार्यक्रममा नेपाली समुदायका सदस्यहरू र सञ्चारकर्मीबीच भेटघाट, विचार आदानप्रदान तथा सामुदायिक विषयमा छलफल गरिने जनाइएको छ।
एन्जाले डार्विनमा बसोबास गर्ने नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका चासो, आवश्यकता र सुझाव सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा समुदायका विभिन्न विषयमा छलफल गर्नुका साथै नेपाली संघसंस्था र सञ्चार क्षेत्रबीचको सम्बन्ध तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गर्ने भएको छ ।
नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रमले समुदायका सदस्यहरूबीच आपसी सद्भाव, आत्मीयता र एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले दसैँको शुभकामना साटासाट गर्दै समुदायका गतिविधि, चुनौती र आगामी दिनमा गर्न सकिने सहकार्यबारे आफ्ना विचार राख्ने अवसर पाउनेछन्।
कार्यक्रम आइतबार डार्विनको स्थानीय समयअनुसार साँझ ५ बजे जुममार्फत सामुदायिक परामर्शबाट सुरु हुनेछ। त्यसपछि जिङ्गिली वाटर पार्कमा भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य सबिन बरालले कार्यक्रमबारे जानकारी दिए। कार्यक्रमले डार्विनको नेपाली समुदाय र सञ्चारकर्मीबीच संवादको अवसर सिर्जना गर्नुका साथै सामुदायिक सहकार्य विस्तार र दसैँको खुसी साटासाट गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।






