सिड्नी । सिड्नीको समुन्द्री किनारमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । न्यू साउथ वेल्स (एनएसडब्लु) प्रहरीले चितवन वीरेन्द्रनगर–२ स्थायी घर भएका अमित सुनारलाई सिड्नीको बाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो मृत अवस्थामा फेला पारेको हो । ३२ वर्षीया सुनार गत शनिबारदेखि सम्पर्कविहीन थिए ।
सुनार दम्पती सिड्नीमा बसोबास गर्दै आएका र उनीहरु ताजमिनियाँ जाने तरखरमा थिए । अमित मोबाइल सम्पर्कमा आउन छाडेपछि उनले अमितलाई खोजिदिन प्रहरीमा निवेदन दिएकी थिइन् । प्रहरीले मोवाइल ट्रयाकिङ गरेर अमितलाई फेला पारेको हो ।
फुटबल र फोटोग्राफीमा दख्खल राख्ने अमित सन् २००९ मा अस्ट्रेलिया आएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार अमितले सिड्नीको ग्रानभिल राइनोज फुटबल क्लबबाट लामो समय फुटबल खेले । उनी भर्खर सेन्टर्जज नेप्लिज फुटबल क्लबबाट खेल्न सुरु गरेका थिए । प्रवक्ता गुरुङले भने, अमित फोेटोग्राफीमा समेत दख्खल राख्ने मिलनसार र सहयोगी थिए ।’ यी दुवै फुटबल क्लबले अमितका लागि सहयोग संकलन थालेको प्रवक्ता गुरुङले जानकारी दिए ।
चितवनमा रहेको अमितको परिवारसँग एनआरएनए अस्ट्रेलियाले सम्पर्क गरेको कोषाध्यक्ष अनिल पोखरेलले बताए । अमितको परिवारलाई सहयोग गर्न एनआरएनए अस्ट्रेलिया तयार छ, कोषाध्यक्ष पोखरेलले भने, ‘अमितको परिवारको अपेक्षाअनुसार एनआरएनएले सहयोग गर्न पहल गर्नेछ । ’
तस्बिर : नन्द गुरुङको फेसबुकबाट ।






