विनर सर्कलले सिड्नीमा फिल्म फेस्टिबल २०२० आयोजना गर्दै

तक्दीर अधिकारी
सिड्नी । नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गर्ने अभिप्रायले सिड्नीमा छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरिने भएको छ । विनर मिडिया सर्कलले यस्तो प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो । विनर सर्कल फ्रेन्ड्स फेस्टिबल २०२० नाम दिएको उक्त प्रतिस्पर्धामा सामाजिक सचेतना अभिवृद्धि गर्ने चारवटा शीर्षकमा छोटा फिल्म निर्माण गर्नुपर्नेछ । यौन दुव्यहार र घरेलु हिंसा, मानसिक स्वास्थ्य सचेतना, लागूऔषध दुव्यर्सनी र महिलाको महिनावारी स्वास्थ्यसम्बन्धी यो चारवटा शीर्षकको वरिपरी रहेर प्रतिस्पर्धीले फिल्म निर्माण गर्नुपर्ने विनर सर्कलका प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए ।

खतिवडाले भने, ‘प्रतिस्पर्धीले निर्माण गरेको फिल्म हामीकहाँ पठाउने छन्, हामीकहाँ तीनजनाको निर्णायक मण्डल हुनेछ, उहाँहरुले शीर्ष १० को छनोट गर्नुहुनेछ । त्यो १० वटा फिल्मलाई हामीले युट्युब च्यानलबाट सर्वसाधारणका लागि राख्छौं । यो दसमध्ये जुन फिल्म दर्शकले बढी मन पराउने छन् र हाम्रा निर्णायकमण्डलले उत्कृष्ट ठहर गरेको फिल्म प्रथम हुनेछ । उत्कृष्ट फिल्मले ४ लाख रुपैयाँ पुरस्कार जित्ने छन् । कन्सलेसन पुरस्कार जित्ने फिल्मले ५० हजार रुपैयाँ जित्नेछ ।’

प्रतिस्पर्धीले मार्च २५ तारिखसम्म फर्म बुझाइसक्नुपर्ने छ । सर्वप्रथम दर्ता हुनुपर्छ, त्यसपछि आफूले रोजेको विषयमा ३ महिनाभित्र फिल्म निर्माण गरेर बुझाउनु पर्नेछ । जुन २५ मा फिल्म बुझाउनुपर्ने अन्तिम समयसीमा तोकिएको अधिकृत खतिवडाले जानकारी दिए । उनले भने, ‘जुलाईमा हामीले निर्णय लिन्छौं । संसारभर रहेका जोसुकैले यो फिल्म निर्माण गर्न पाउने छन् भने निर्माण भएको फिल्म अंग्रेजी वा नेपाली भाषामा हुनुपर्नेछ । फिल्मको अंग्रेजी भाषामा सबटाइटल राखिएको हुनुपर्छ, फिल्म सबैले पनि बुझुन भन्ने उद्देश्यले यस्तो प्रावधान राखेका हौं ।’

प्रिमो एजुकेशन एन्ड भिसा सेन्टरले प्रायोजन गरेको उक्त फिल्म प्रतिस्पर्धाको मनोज अधिकारी र भानुप्रतापलगायत निर्णायकमण्डलमा छन् ।

सहभागी हुन चाहनेले यो लिङ्कमा क्लिक गर्न सकिने छ ।

https://primoedu.com.au/winners-circle-film-festival/?fbclid=IwAR3hFh-zowQe04qjtQHI81lGL-R3bTNic6s8OX1uszUanrI1Ry46NX4ndwE

Leave a Reply

Your email address will not be published. Required fields are marked *