सिड्नीमा मिस, मिस्टर र मिसेज नेपाल ओसियाना सम्पन्न जेमिना श्रेष्ठले हात पारिन् मिस नेपाल ओसियाना २०२० (फोटो फिचर)

तक्दीर अधिकारी
सिड्नी । मिस्टर, मिस र मिसेज नेपाल ओसियाना २०२० शनिबार सम्पन्न भयो ।मिस नेपाल ओसियाना टाइटल जेमिना श्रेष्ठ, मिसेजको टाइटल सीता साम्बा र मिस्टर नेपाल ओसियाना (म्यान अफ द वल्र्ड) को टाइटल राजेन्द्र रावलले जिते । मिस नेपाल ओसियाना जेमिनालाई सन् २०१९ को मिस नेपाल ओसियाना तथा मिस नेपाल अनुष्का श्रेष्ठले ताज लगाइ दिएकी थिइन् । २३ वर्षकी जेमिना अष्ट्रेलियामा सेल्स सुपरभाईजरको रुपमा काम गर्छिन् । उनले सन् २०२० को मिस नेपाल प्रतियोगितामा टप २० मा सिधै प्रवेश पाउने भएकी छिन् ।

मिस नेपाल ओसियानाको फष्ट रनरअप अंसिका शर्मा बनिन् भने सेकेण्ड रनरअपको ताज रेश्मी गुरुङले उचालिन् । २३ वर्षकी शर्मा अष्ट्रेलियामा सेल्स एनालिष्ट हुन् भने २२ वर्षकी गुरुङ इन्रोल नर्स । शर्माले पब्लिक च्वाइस र गुरुङले मिस क्याटवाकको टाइटलसमेत जितिन् ।

मिस्टर नेपाल ओसियानाको उपाधि जितेका राजेन्द्रले नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्डमा सहभागी जनाउन पाउने भएका छन् । मिस्टर नेपाल ओसियानाको फष्ट रनरअप बने रञ्जिन प्रधान त्यस्तै सेकेण्ड रनरअपको उपाधी हात परे आयुष शाहीले ।

आयोजकका तर्फबाट समिम अनवरले स्वागत मन्तव्य राखेसँगै कार्यक्रम सुरु भएको थियो । पवित्रा घलेले सञ्चालन गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ ओसियाना संयोजक तथा आयोजकका तर्फबाट भूमा लिम्बूले निर्णायक र अतिथिहरुलाई खाँदा लगाएर स्वागत गरेकी थिइन् ।

सांस्कृतिक नृत्यबाट सुरु भएको कार्यक्रममा मिसेस र मिस नेपाल ओसियानाका चार जना र मिस्टर नेपाल ओसियानाका ८ जना अन्तिम प्रतिस्पर्धी स्टेजमा देखापरे । त्यसपछि सबै प्रतिस्पर्धीले आफ्नो परिचयसँगै भनाइ राखेका थिए । त्यसपछि सबैलाई सामान्य प्रश्न सोधिएको थियो, उक्त प्रश्नका जवाफ दिनलाई १ मिनेटको समयसीमा तोकिएको थियो । सबैले उक्त प्रश्नको उत्तर दिएका थिए ।

युनाइटेड नेपलिज आर्ट एण्ड इन्टरटेन्टमेन्ट ले सन् २०१० देखि  गर्दै आएको   सुन्दरी प्रतियोगिता यस् बर्ष  न्यू साउथ वेल्स क्याम्सीको ओरियन फङसन सेन्टरमा सम्पन्न भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान र पूर्व पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सिड्नीमा रहेका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा सन् १९१८ को मिसेस नेपाल ओसियाना भारती पौडेल अधिकारी, मिस्टर नेपाल ओसियना म्यान अफ द उड छिरिङ पाख्रिन र मिस नेपाल ओसियना अनुष्का श्रेष्ठलगायतको उपस्थिति थियो । भारती, छिरिङ र अनुष्काले आ–आफ्ना अनुभव सेयर गरेका थिए ।