सिड्नी । अष्ट्रेलिया सरकारले सुपर मार्केटमा कार्यरत प्रवासी विद्यार्थीलाई थप घण्टा काम गर्न पाउने सुविधा दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दैनिक उपभोग्य सामानको किनमेललाई सहज गर्न सरकारले विद्यार्थीलाई यस्तो सुविधा दिएको हो ।
अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला कार्यवाहक मन्त्री एलन टजले आम जनताको सुविधालाई हेरेर कर्मचारीहरूको कमी हुन नदिन विद्यार्थीहरूले पनि थप घण्टा काम गर्न पाउने व्यवस्था ल्याइएको बताए ।
प्रवासी विद्यार्थीहरूले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था हुने गरेकोमा अब त्यो केही समयका लागि बढाइने निर्णय गरिएको हो । ‘देशभरका सुपर मार्केटहरू अत्यावश्यक सामग्रीहरू भरिपूर्ण राख्न संघर्ष गरिरहेका छन्, यस्तो अवस्थालाई ध्यानमा राखेर हामीले यो निर्णय गरेको हो’ मन्त्री टजले भने ।
यो व्यवस्था वूलवर्थ, कोल्स लगायतका प्रमुख सुपर मार्केटको हकमा मात्र लागू हुनेछ, अतिरिक्त घण्टा काम गर्न पाउने कर्मचारीहरू पहिलेदेखि नै सोही स्थानमा कार्यरत हुनुपर्ने प्रावधान तोकिएको छ । तर अन्य सुपर मार्केटहरूले पनि यस्तो व्यवस्थाले आफूलाई सहयोग हुने भए विभागमा सम्पर्क गर्न सक्ने कुरा मन्त्री टजले सुनाए । तर यो व्यवस्था केही समयका लागि मात्र लागू हुने मन्त्री टजको भनाइ छ ।
‘यो व्यवस्था निश्चित समयका लागि मात्र हो, उनीहरूले काम गरिरहेका छन् कि छैनन् साथै उनीहरूलाई थप समय दिन आवश्यक छ कि छैन भनेर अनुगमन गरिरहने छौं ।’






