सिड्नी । अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नवी जोयशलाई मास्क लगाउने नियम पालना नगरेको भन्दै २ सय डलर जरिवाना तिराइएको छ ।
सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा उनलाई २ सय डलर जरिवानामा तिराइएको हो । सोमवार विहान मन्त्री जोयश न्यू साउथ वेल्स राज्यको आर्मेडेल स्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाइ गएका थिए ।
उनले स्वास्थय मापदण्ड पालना नगरेको रिपोर्ट न्यू इंग्ल्याण्ड पुलिस डिष्ट्रीक्टलाई पुर्याइदिएपछि उनलाई कारवाही गरिएको हो । डेपुटी पुलिस कमिसनर ग्यारी वोरब्वाईजले उप–प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा सरकारको आदेशको उल्लंघन गरेको पाइएकाले प्रहरीले तत्काल २ सय डलर जरिवाना गरेको बताए ।
ग्यारीका अनुसार प्रहरी समक्ष उपप्रधानमन्त्री जोयशले राम्रो र सहयोगी ब्यवहार देखाएका थिए । उपप्रधानमन्त्रीले विमानस्थल जाने क्रममा प्रेमिकाको कारमा इन्धन भर्ने समयमा इन्धनको पैसा तिर्न निस्कदा मास्क लगाउन बिर्सेपछि जरिवानामा परेको स्वीकार गरेका छन् ।
सन् २०१८ मा विविध आरोपका कारण पदवाट राजिनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा फर्किएका थिए । केही दिन अघि बेलायतका स्वास्थ्य मन्त्री म्याठ ह्यान्ककले पनि सार्वजनिक स्थलमा स्वास्थय मापदण्ड पालना नगरी चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि पदबाट नै राजिनामा दिनु परेको थिए ।
PHOTO-ABC






