तक्दीर अधिकारी
सिड्नी। नेपाली हिन्दु समाज अष्ट्रेलियाले यस बर्ष देशका विभिन्न शहरहरुमा लागू हुने गरी दीपावलीका विभिन्न साइतहरु सार्वजनिक गरेको छ । यस बर्ष १४ नोभेम्बरमा लक्ष्मीपुजा परेको छ भने १६ नोभेम्बरमा भाइटीका परेको छ ।
समाजका अनुसार सिड्नीमा लक्ष्मीपुजाको साइत साँझ ७ः४२ मा परेको छ भने भाईटीका दिउँसो २ बजेर ४ मिनेटदेखी ४ बजेर ५१ सम्म उपयुक्त मानिएको छ। मेलबर्न, ब्रिसबेन, पर्थ, डार्विन, एडिलेड, क्यानबेरा र तास्मानियामा लक्ष्मीपुजा गर्न उपयुक्त समय क्रमशः साँझ ७ः५९, ८ः५४, ८ः१८, ७ः१२, ८ः१८, ७ः ४६, ८ः०२ मिनेटमा मानिएको छ । त्यसैगरी भाइटीकाको समय मेलबर्नमा दिउँसो साढे दुई देखी ५ः२१, ब्रिसबेनमा १२ः५४ देखी ३ः३६ सम्म, पर्थमा १ः२४ देखी ४ः१० सम्म, डार्विनमा १ः४८ देखी ४ः२० सम्म, एडिलेडमा २ः२५ देखी ५ः१२ सम्म, क्यानबेरामा २ः१३ देखी ५ः०१ सम्म तथा तास्मानियामा २ः२४ देखी ५ः१९ सम्म उपयुक्त मानिएको समितिले जनाएको छ ।
टीकाको शुभ साइत शूरु भइसकेपछि तोकिएको समयभित्र नै लगाइसक्न पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पश्चिमा तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।
उनका अनुसार यसपाली नेपाल र यहाँको दीपावलीको साइत फरकफरक रहेको छ । सकेसम्म टीका बेलुका लगाउन राम्रो भएकोले बरु कामबाट फर्किएर आएपछि टीका लगाउन उनले आग्रह गरे । कोही ब्यक्तिहरुले विहान टीका लगाएर काममा जाने चाहना राख्छन्, तर विहान लगाउन शुभ नरहेको उनले बताए । त्यसैगरी महालक्ष्मी पुजाको लागि पनि तोकिएको समय देखी ३ घण्टा भित्रमा गरिसक्न पनि उनले आग्रह गरे । मुहुर्त दिक्त सिद्धान्तमा आधारित रहेर तयार गरिने समितिले जनाएको छ।







