प्रवासको लामो जीवन बिताएर अनेकन भोगाई सिकाई र कठोर यात्रा र अनुभवले मानिस ब्यवहारिक र बुझकी हुने गर्दछ।
हुनत एउटा बोटमा फलेका फलहरू सर्लक्क परेका राम्रा हुदैनन्, यद्यपि जो देख्नमा राम्रा हुन्छन तिनको स्वाद नहुन सक्दछ। जो हेर्दा नराम्रो भएता पनि स्वादिष्ट हुने गर्दछन्। अरू भन्दा हामी नेपालीहरू ईमान,जमान र जिम्मेवारिताप्रति अलिक बढी उत्तरदायी हुने हुदा तुलनात्मक रूपमा हामी स्वादिष्ट भित्र नै पर्दछौ। यो हाम्रा निम्ति सकरात्मक पक्ष हो।
नेपाली समुदाय भित्र यउटा यस्तो अचम्मको विशेषता छ कि, हामी आपसी दुःख,अप्ठ्याराहरूलाई अन्तर हृदयबाट महसुस गर्न सक्दछौ।आपसमा दुःख को साथी र सुखको सहयात्री हुने गर्दछौ। यहि विशेषता हो जस्ले हामीलाई समुदाय समाज र सेवामूलक सामाजिक अभियान प्रति निरन्तर अभिप्रेरित गरिरहन्छ।
यस्तो ज्वलन्त उदाहरणका रूपमा कोभिड – १९ को उच्च प्रभाव र जोखिमकाबीच विभिन्न नेपाली समाजहरूले समुदायका लागि तत्काल गरेका सहयोगलाई लिन सकिन्छ। जसमध्य कर्मभुमिबाट नियाल्दा नेपालि समुदायको सबै भन्दा ठुलो र साझा सङ्गठन गैर आवासीय नेपाली संघ (एनआरएनए) नै हो।
जन्म भुमिमा कुनै पनि बिपद या महामारी त्यो चाहे भुकम्प होस या कोभिड १९, या त बाढीपहिरो होस अथवा गरिबीका कारण उपचार नपाएका नेपालीहरु हुन् । चाहे अभावका कारण शिक्षाबाट बन्चित बालबालिका हुन ।
यी सबै समुदायका दुःख आपतमा एनआरएनए अष्ट्रेलियाले खुल्ला हृदयबाट अमूल्य सहयोगका साथ जन्मभूमि अवस्थित समुदायसम्म पुग्ने गरेको बिगत र बर्तमान हाम्रा सामु स्पस्ट छ। जसका निम्ती एनआरएनए अष्ट्रेलियाको बिभिन्न तहगत रूपमा रहेका अध्यक्ष देखि सबै पदाधिकारीहरू धन्यवादका पात्रहरू हुन।
भावनात्मक रचनात्मक र सकरात्मक सहयोग र सद्भावसहित समाज र समुदाय प्रति उत्तरदायी ,जिम्मेवार हुनु नै सामाजिक सङ्घ सस्थाहरूको मूल धर्म र कर्म हो। हरेक समुदायले आफुलाई प्रतिनिधित्व गर्ने सस्था सबल साझा मितब्ययी होस् भन्ने चाह राख्नु साझा, सामाजिक भावना हो। आफ्नो स्व–मताधिकारको प्रयोग गरेर दुरदर्शी र सक्षम नेतृत्व चयन गर्नु उसको अधिकार र कर्तव्य हो।
यतिबेला हामि अष्ट्रेलियामा रहेका प्रवासी नेपाली समुदायको साझा र सम्मानित सस्था एनआरएनए अष्ट्रेलियाको निर्वाचनको सम्मुखमा छौँ । ईतिहास मै सबैभन्दा धेरै कुल १६ हजार १७८ सदस्यहरूले सदस्यता लिएको यो हाम्रा लागि निकै खुशिको क्षण हो। यसबाट संस्था प्रति समुदायको उत्तरदायित्व अभिछिन्न विश्वास र भरोषाको स्पष्टता हुन्छ।आज हरेक नेपाली समुदायले समाजका विशेषता, विविधता र समय सुहाउँदो नेतृत्वको अपेक्षा गरेको पाइन्छ ।
जस्ले संस्थालाई गति दिने मात्र होइन सबै बिचार र बिमतीलाई आत्मसात् गरेर समुदाय लाई सफल नेतृत्व दिन सकोस्। सबल समाजको परिकल्पना र समुदाय को वृहतर हितका निम्ति निति र योजना दिन सकोस्। भविष्यमा नयाँ पुस्तालाई संस्था सङ्ग जोड्न सकोस्। संस्थागत पारदर्शीता मितब्ययिता निति र योजनालाई समुदायकावीच स्पष्ट पार्न सकोस् ।
.प्रवासमा रहेका हाम्रा कुटनैतिक नियोगहरू सङ्ग समन्वय गरी हरेक नेपालीहरूका दुःख, अप्ठ्याराहरूमा समान अभिभावकीय भूमिका निर्वाह गर्न सकोस्। प्रवासी भूमिमा हुर्कदै गरेको नयाँ पुस्तालाई हाम्रा भाषा संस्कृति र सभ्यताको विषयमा परिचित गराउन सकोस। सुदूर, सबल भविष्यका निम्ति परिवारको न्यानो माया र ममताबाट टाढियर प्रवासमा सङ्घर्षश्ील आम विद्यार्थीहरुका कैयन समस्यामा निकास र अभिभावकत्व दिन सकोस।
विकसित देशको विकाशक्रमको गहिरो अध्ययन गरि यथास्थितिमा जन्मभूमि अवस्थित समाज र समुदायका निम्ति आधुनिक समयाअनुकूल विकाश योजनाको सुझाव मूलक योजना र खाका दिन सकोस।
यी र यस्ता कैयन सामाजिक सवालहरूमा स्पष्ट मत र योजनाका साथ नेतृत्व प्रदान गर्नसक्ने सबल र सक्षम नेतृत्व एनआरएनए अष्ट्रेलियाका निम्ति आजको आवश्यकता हो। जसका निम्ति सबै उम्मेदवारहरू सक्षम छन्। जसबाट योग्य उम्मेदवार चयन गर्नु तपाईं को स्व–मताधिकार हो ।
सबै अट्ने सबैलाई जोड्ने एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन परिवर्तन र सम्भावनाको निर्वाचन होस। सहमति, सहकार्य र एकताको निर्वाचन हुन सकोस्।
एनआरएनएको निर्वाचन अष्ट्रेलियामा रहेका नेपाली समुदायका निम्ति भरोष र विश्वासको उत्सव हुन सकोस् ।
हार्दिक बधाईसहित सबैमा शुभकामना ।
समित केसी, महासचिब -पोखरा समाज अष्ट्रेलिया






