माकाथर क्षेत्र नेपाली समाजले शनिवार भव्य तीज विशेष कार्यक्रम गर्दै

सिड्नी । माकाथर क्षेत्र नेपाली समाज अष्ट्रेलियाले शनिवारको दिन तीज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तीजको अवसर पारेर प्रत्येक वर्ष समाजले आयोजना गर्दै आएको यस वर्षको कार्यक्रम ६ अगस्टमा इङलबन कम्युनिटी हलमा हुने भएको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष अखण्ड ज्ञवालीले जानकारी दिए । ट्वान्टी वान सेन्चुरी मिन्टोको मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा प्रवेशका लागि ३५ डलरको टिकट लाग्नेछ । टिकटको अर्धकट्टी राफल चिठ्ठामा सामेल गराइने छ ।

पुरस्कार विजेतालाई तिलहरी उपहार दिइनेछ । उक्त पुरस्कार बुद्ध ज्वयलर्सले प्रायोजन गरेको समाजका सल्लाहकार टुङ्गानाथ खरेलले जानकारी दिए । साँझ ६ बजेदेखि आयोजना हुने उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा तीज गीत प्रस्तुती सगैं स्थानीय कलाकारहरुले हरितालिका तीजका भाकाहरु प्रस्तुत गर्नेछन् । समाजका अध्यक्ष ज्ञवाली अनुसार कार्यक्रममा तीजको मीठो परिकार, सांगीतिक मोहल र फेसन सो समेटिएको छ ।

कार्यक्रममा राज्य सांसद अनुलक चान्थिभोङ प्रमुख अतिथि रहनेछन् त्यस्तै मसुद चौधरी,काउन्सिलर करेन हन्ट, काउन्सिलर डार्सी लाउन्ड लगायतका उच्च पदस्थ नेता एवम् विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सिड्नीवासी नेपाली समुदायको साझा कार्यक्रम भएकाले सबैलाई सहभागिताका लागि अध्यक्ष ज्ञवालीले अनुरोध गरेका छन् ।
अध्यक्ष ज्ञावलीले समाजका सबै सदस्यहरुको सहयोगले कार्यक्रम गर्न लागिएको भन्दै आगामी दिनमा पनि समाजले आयोजना गर्ने कार्यक्रमहरुमा यसैगरी सबैको साथ पाउँनेमा विश्वास व्यक्त गरे । सन् २०११ मा स्थापना भएको माकाथर क्षेत्रीय नेपाली समाजले सन् २०१४ देखि तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको सल्लाहकार टुँगानाथ खरेलले जानकारी दिए ।