सिड्नी । डिसेम्बर एक गतेबाट अन्तराष्ट्रिय नाका खोल्ने महिनाअघिको निर्णय कार्यान्वयन हुन नपाउँदै अष्ट्रेलियाले स्थगन गरेको अन्तराष्ट्रिय आवागमन बुधबारबाट खुलेको छ ।
१ डिसेम्बरबाट विभिन्न भिजावाहकहरुलाई अष्ट्रेलिया प्रवेश गर्ने निर्णय गरिएपनि त्यसको केही दिन अघि वर्तमान फैलिरहेको ओमिक्रोनलाई मध्यनजर गर्दै सीमा नाका खोल्ने निर्णय दुई हप्ता स्थगन गरिएको थियो ।
यसबारे जानकारीदिदै प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर १५ तारिखपछि पुरा खोप लगाएका विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने घोषणा गरेका थिए । सोही अनुरुप अष्ट्रेलियामा भिजावाहकहरु आउन शूरु गरेका हुन्।
अष्ट्रेलिया आउन तयार भएर बसेका अन्तराष्ट्रिय विद्यार्थी, दक्ष कामदार र वर्किङ होलिडे भिषावालाहरु धमाधम भित्रिन थालेका छन् ।
अष्ट्रेलियामा कोभिडविरुद्धको दुवै मात्रा लगाउन मानिसहरुको संख्या अत्याधिक रहेको र ओमिक्रोनको प्रभाव त्यति धेरै नरहेको पाइपछि सरकारले आवागमन सहज बनाइएको हो । हाललाई न्यू साउथ वेल्स र भिक्टोरियाले मात्रै विद्यार्थीलाई प्रवेश दिने निर्णय गरेका छन् । अन्य राज्यहरुले निर्णय गर्न बाँकी छ ।
तर यहाँ आइसकेपछि भने केही दिन क्वारेन्टीनमा बस्न भनिएको छ । दुवै खोप लगाएको प्रमाणपत्र र कोभिड नरहेको नेगेटिभ प्रमाणपत्र भएकाहरु यहाँ आउन पाउने छन् ।
सरकारले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ।
विश्वभर कोभिड महामारी फैलिन शुरू भएसँगै सरकारले २०१९ मार्चबाट सीमा बन्द गरेको थियो । साढे दुई बर्ष पछि सरकारले सीमा खोलेको हो ।
पछिल्लो समय कामदार अभाव, देशको आर्थिक स्रोतको प्रमुख हिस्सा मानिएका विद्यार्थीहरु नआउँदा आर्थिक उपार्जन पनि कम भएसँगै सरकारले आवागमनलाई सहज बनाएको हो ।
नेपालका करिब ५ हजार विद्यार्थीहरुले डलरमा शुल्क तिरेर अनलाईन पढीरहेका छन् । उनीहरु अब अष्ट्रेलिया आउन शुरू गरेका छन् ।






