क्यानबेरामा प्रकोप तथा महामारी व्यवस्थापन विज्ञ सम्मेलन सम्पन्न

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको प्रकोप ब्यवस्थापनसम्बन्धी कार्यदलले आयोजना गरेको एक दिने विज्ञ सम्मेलन राजधानी क्यानबेरामा हिजो बुधबार सम्पन्न भयो । एनआरएन अष्ट्रेलिया, नेपाली दूतावास, अष्ट्रेलियाली नेपाली डाक्टर र डेन्टिस्टको संस्था एम्डा, नेपाली सामुदायिक संघ संस्था फेन्कालगायत मिलेर आयोजना गरिएको उक्त सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले गरेका थिए ।

कार्यक्रममा राजदूत दाहालले अष्ट्रेलियाको नेपाली समाजले ज्ञान र शिप अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । राजदूत दाहालले सोही अबसरमा सम्मेलनका संयोजक तथा एनआरएन अष्ट्रेलियाका प्रकोप ब्यबस्थापन कार्यदलका संयोजक डाक्टर भरतराज पौडेल, डा. राजु अधिकारी र डाक्टर रामकृष्ण निरौलाद्वारा लिखित नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार डाइसेक्टिङ दी प्यान्डेमिक कोभिड–१९ नामक पुस्तकको लोकार्पण समेत गरेका थिए ।

राजदूत दाहालले तिनै जना सम्पादक तथा आठवटा च्याप्टरमा आ–आफ्ना अनुसन्धान र सोध पस्कने अनुसन्धानकर्ता र लेखकहरूलाई बधाई दिए । मञ्चमा एनआरएन आईसीसीका उपाध्यक्ष मन केसी, नेपाली कन्सुल जनरल दिपक खड्का र नेपाली दूतावासकी नियोग उपप्रमुख द्रुपदा सापकोटाले संयुक्त रूपमा रिबन खोलेर सहभागी बिज्ञ र बैज्ञानिक समुदायसामु प्रस्तुत गरेका थिए ।

१४ बुँदे क्यानबेरा घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा प्रकोप ब्यवस्थापन र कोभिड–१९ को महामारीमा अष्ट्रेलियास्थित विज्ञ र पेशाकर्मीले गरेका अनुसन्धान र पेशागत संलग्नताबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनलाई एनआरएन आईसीसी प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले प्रकोप र महामारीसम्बन्धी ज्ञान र सिप आदान–प्रदान गर्ने यो सम्मेलन सान्दर्भिक भएको बताए । एनआरएन आइसीसी अध्यक्ष कुमार पन्तले पठाएको लिखित सन्देशसँगै पूर्वअध्यक्ष जीवा लामिछाने र वर्तमान महासचिव हेमराज शर्माले मानवतावादी कामको लागि प्राज्ञिक र पेशाकर्मीकै पहलमा एनआरएनलाई अझ बढी घच्घच्याउने काम यो सम्मेलनले गरेकोमा खुसी ब्यक्त गरे ।

आईसिसी उपाध्यक्ष मन केसीले आफूले नेतृत्व गरेको आईसिसीकै स्कील नलेज र प्रबिधि हस्तान्तरण एवं नीति हेर्ने विभागको लागि यो सम्मेलनको घोषणापत्र पुस्तक र प्रोसिडिङ महत्वपूर्ण हुने भएकोले र अष्ट्रेलियाबाटै यो काम शुरू भएकोमा खुसी ब्यक्त गरे।

नेपाली महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, नेपाली दूतावासकी उपप्रमुख द्रुपदा सापकोटाले प्रकोप व्यवस्थापनमा यो सम्मेलन कोषे ढुङ्गा साबित हुने बताएका थिए ।

तीन चरणमा सञ्चालित सम्मेलनमा डा. रूपक अर्याल, डा बन्दिता मैनाली, डा ज्योती केसी, डा हेमन्त ओझा, डा रमेश सुनाम, डाक्टर चन्द्र दिपक पोखरेल, पुनम पन्त, कृष्ण हमाल, डा होममूर्ती पन्तलगायतले आ–आफ्ना अनुभव सुनाएका थिए ।

एनआरएन आईसिसी महिला संयोजक भोमा लिम्बु र ओसेनिया संयोजक जानकी पौडेलले सम्मेलनमा प्रस्तुत विषयबस्तु एनआरएनको मानवतावादी कामको लागि अत्यन्त उपयोगी रहने उल्लेख गरे । कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेल, एनएडिएफ पूर्वअध्यक्ष डिल्ली ढकालले सम्मेलनको निचोड नेपाल र नेपालीका लागि उपयोगी दस्तावेज हुने उल्लेख गरे।

एनआरएन अस्ट्रेलियाका पुर्वअध्यक्ष सुरेन्द्र सिग्देल, नेपाली समाजका अभियन्ता नारायण प्रधान, प्रवक्ता नन्द गुरूङ, एनएसडब्लु उपाध्यक्ष देब गुरूङ, भिक्टोरिया उपाध्यक्ष प्रेम कँडेल, डाक्टर दुर्गादत्त कँडेल, आइसीसी सदस्य ई राजु अधिकारीले सम्मेलनले मार्ग निर्देशन गरेका बिषयहरू एनआरएनले लागू गर्दै जान सके संस्थाको प्रभावकारीता अझ बढ्ने बताएका थिए ।