• तक्दीर अधिकारी

अष्ट्रेलिया– नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।

अप्रिल ६ र ७ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्रदर्शन हुने भएको छ । इनरिच कन्सल्टेन्सीले अष्ट्रेलियामा बुलबुल प्रदर्शन गर्ने तयारी गरेको कन्सल्टेन्सीका निर्देशक मनोज अधिकारीले जानकारी दिनुभयो ।

पहिलो शो ६ तारिख साँझ साढे ६ बजे इभेन्ट्स सिनेमाज् बरउड र दोस्रो शो ७ तारिख साँझ साढे ६ बजे इभेन्ट्स सिनेमाज् हर्स्टभिल्लेमा प्रदर्शन गरिने अधिकारीले बताउनुभयो ।

यसैगरी ‘बुलबुल’ अष्ट्रेलियाको ब्रिसबेन मेलवर्न सिड्नी एडिलेडलगायतका सहरमा पनि प्रदर्शन गरिनेछ ।

यसअघि इनरिच कन्सल्टेन्सी र नेप्लिज स्क्वाड इन्टरटेन्मेन्टले अष्ट्रेलियामा होली मेला ३ सफलतापूर्वक सम्पन्न गरेपछि बुलबुल प्रदर्शन गर्न लागेको हो ।

नेपालमा राम्रो समीक्षा पाएको चलचित्रले हलमा पनि दर्शकको राम्रै साथ पाएको थियो । नेपालबाट ‘बुलबुल’ले डेढ करोड ग्रस कलेक्सन गरेको थियो । विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् ।

फेसबुक कमेन्ट