ओली निवासमा एमाले र मधेसी नेताबीच वार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले र मधेसवादी दलका नेताहरूबीच भेटवार्ता भएको छ । वार्तामा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव विष्णु पौडेल, नेता अग्नि खरेल तथा मधेसवादी दलका तर्फबाट मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।
आज शनिबार भएको वार्ता १ः३० बजेतिर सकिएको थियो । आगामी माघ ८ गतेभित्र सहमतिमा संविधान जारी गर्ने विषयमा दुवै पक्षबीच करिब पाँच घन्टा छलफल भएको थियो । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संविधान निर्माणका क्रममा सहमति हुन नसकेका चारवटै विषयमा बुँदागत रूपमा बृहत् छलफल भएको बताउनुभयो । छलफलमा विवादित विषयमा सहमति नजिक पुगेको बताउँदै उहाँले माघ ८ गतेभित्र संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “विवादको मुख्य विषय सङ्घीयता हो । सात, आठ वा नौ प्रदेश भन्ने विषयमा दलहरूबीच अब ठूलो अन्तर छैन । मूल मुद्दा सम्बोधन हुनुपर्छ भन्ने कुरा मुख्य हो, यसमा पनि सहमति नजिक पुगेका छौँ ।” जाति, भाषा, क्षेत्र, भूगोल र संस्कृतिका आधारमा प्रान्तको सङ्ख्या, सीमाङ्कन र नामाङ्कन गर्ने विषयमा आज भएको छलफल सकारात्मक रहेको उहाँले बताउनुभयो । न्याय प्रणालीमा दलहरूबीच सहमति भइसकेको र कुनै जटिलता नभएको बताउँदै उहाँले मिश्रित निर्वाचन प्रणालीमै दलहरूबीच सहमति हुने आशा व्यक्त गर्नुभयो ।
प्रत्यक्ष र समानुपातिकतर्फ प्रतिशतमा तलमाथि हुनसक्ने भए पनि मिश्रित प्रणाली नै निर्वाचन प्रणाली हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मिश्रित निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा बन्नेछ र राष्ट्रियसभा पूर्ण समानुपातिक हुन्छ, जसमा राष्ट्रिय जीवनका ख्याति प्राप्त र प्रतिनिधित्व हुन नसकेका वर्ग र जातिलाई समेट्नेबारेमा सहमति हुने भएको छ ।”
संसद्लाई आधार बनाएर राज्यको शासकीय स्वरूप निर्धारण हुनेबारेमा सहमति नजिक पुगेको बताउँदै उहाँले संसद्बाटै कार्यकारी प्रधानमन्त्री र इलेक्ट्रोरल कलेजबाट राष्ट्रपति बन्ने प्रावधान राख्ने विषयमा सहमति नजिक पुगेको जानकारी दिनुभयो ।
भेटवार्तापछि प्रतिक्रिया दिँदै एमाले सचिव पौडेलले मधेसवादी दलका नेताहरूसँग संयुक्त छलफल भएको बताउँदै सहमति हुन बाँकी भएका विषयमा आज भएको छलफल निकै सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । छलफललाई सघन ढङ्गले अझै अगाडि बढाउने जानकारी दिँदै उहाँले संविधान निर्माणमा सरकार विस्तारले सहज बनाउँछ भन्ने भएपनि यसबारे भने आजको भेटवार्तामा कुनै कुरा नभएको बताउनुभयो ।