स्पाइस जेटमाथि कडा कारबाहीको तयारी

नयाँ दिल्ली, मंसिर २७ – पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको स्पाईस जेटमाथि कडा कारबाही हुने संभावना बढेको छ । कम्पनीले आगामी डिसेम्बर १५ सम्ममा ठूला लगानीकर्ताको नाम भारतीय नागरिक उड्डेन महानिर्देशनालयमा पेस गर्न नसकेमा महानिर्देशनालयले कम्पनीका विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

 महानिर्देशनालयले कारबाही स्वरुप स्पाइस जेटको एयर अपरेशन परमिट समेत रद्द हुनसक्ने जनाएको छ । विभिन्न उपहार योजना ल्याएर वर्षभरिको एडभान्स बुकिंग गर्ने तर विमानको संख्या कम भएकाले बुकिंग भएका उडान समेत रद्द गर्ने कम्पनीको शैलीप्रति महानिर्देशनालयले असन्तुष्ट जनाउँदै आएको थियो । पहिले त कम्पनीलाई एडभान्स बुकिङलाई एक महिनासम्म मात्र सिमित गर्न निर्देशन जारि गरिएको थियो तर यसबाट पनि समस्या समाधान नभएको र कम्पनीको आर्थिक अवस्था थप जटिल बन्दै गएपछि महानिर्देशनालयले कडा कारबाहीको तयारी गरेको हो ।

 पछिल्लो समय कम्पनीले आर्थिक संकटका कारण कर्मचारीहरुलाई समेत समयमा तलब भूक्तानि गर्न नसकेपछि कम्पनीमा कार्यातर पाइलट तथा कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेका छन् । हालसम्म स्पाइस जेटमा कार्यरत एक सय २५ जना पाइलटले राजीनामा दिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

 समयमा तलव सुविधा नदिएपछि नागरिक उड्डेन महानिर्देशनालयले कम्पनीलाई १५ दिसेम्बरसम्म सबै कर्मचारीको तलव सुविधा भुक्तानी गर्न पनि निर्देशन दिएको छ । कम्पनीले आर्थिक संकटमा फस्दै गएपछि विमानको टिकट समेत महंगो बनाएको छ । बजारमा हवाई इन्धनको मूल्य समेत घटिरहेको बेला स्पाइसले भने टिकटदर महंगो बनाएको बताइएको छ ।

 पछिल्लो समय भारतीय निजी लगानीका विमान कम्पनीहरुको अवस्था खराब अवस्थाबाट गुज्रिरहेको छ । यस अघि भारतीय किंगफिसर एयरलाईन्स तथा सहारा कम्पनी समेत समस्या परिसकेका छन् । त्यस्तै भारतीय सरकारी विमान कम्पनी पनि सरकारी अनुदानमा चलिरहेको भारतीय सञ्चार माध्यमको दाबी छ । त्यस्तै जेट एयरवेज समेत आर्थिक संकटबाट गुज्रिरहेको बताइन्छ ।