वादी समुदायमा खुसीले आँखा रसाए

s}nfnL ३ माघ । सधैँ दुःखका आँसु देखिने वादी समुदायमा आज भने खुसीले आँखा रसाएका छन्। बस्तीमा बिजुली बलेसँगै खुसीले उनीहरुको आँखा रसाएका हुन्।

‘अँध्यारोमा कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायले अबदेखि उज्यालोमा बस्न पाउने भए’, रमा वादीले भनिन्,’अब रातमा उज्यालो हेर्न पूर्णिमाको रात पर्खिनु पर्दैन।’

विगत १० वर्षदेखि अँध्यारोमा बस्दै आएका कैलालीको लम्कीचुहा नगरपालिका–१ बल्चौरमा रहेको वादी बस्तीमा बिजुली पुगेको हो।

बस्तीमा बिजुलीको माग गर्दै पटक–पटक आन्दोलन गरेको स्मरण गर्दै रमाले भनिन्, ‘ढिलै भए पनि हाम्रो मागको सुनुवाइ भयो।’

जिल्ला वादी अधिकार सङ्घर्ष समितिको पहलमा स्थानीय निकायद्वारा सञ्चालित वादी समुदाय उत्थान विकास समितिको सहयोगमा सो बस्तीमा विद्युत् लाइन् जडान गरिएको हो।

वादी समुदाय उत्थान विकास समितिले विद्युत् जडानका लागि दुई लाख ६५ हजार रकम उपलब्ध गराएको वादी अधिकार सङ्घर्ष समिति कैलालीका सचिव नन्दाम वादी बताए।

उनले हाल ५५ वटा घरमा विद्युत् मिटर जडान गरिएको बिजुली बलेको र बाँकी घरको फर्म दर्ता हुने काम भइरहेको जानकारी दिए। सो समुदायमा वादीका २९२ वटा घर रहेका छन्।

वादी समुदायमा बिजुली बलेको खुसियालीमा विभिन्न किसिमका नाचगान गरिएको थियो। रासस