महतोले भने, ‘ओलीले माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन’

काठमाडौं, पुस २५– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनतालाई अपमान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन संयुक्त मधेशी मोर्चाले सहयोग नगर्ने बताएका छन् ।Mahato Speaks to Media after Meeting

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महतोले एमाले अध्यक्ष ओलीले सिँगो मधेश र मधेशी जनतालाई होच्याउने काम गरेको उल्लेख गर्दै आफूहरु कुनै पनि हालतमा ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने निर्णय गरेको बताएका छन् ।
अध्यक्ष महतोले ओलीको अभिव्यक्तिले सिँगो मधेशमा अझैपनि एक दुई जातको एकाधिकार जमाउने हर्कतको गन्ध देखिएको भन्दै उनले मधेशी जनतासँग माफी नमाँगेसम्म संयुक्त मधेशी मोर्चा नेकपा एमालेसम्वद्ध चार पक्षीय बैठकमा सहभागी नहुने जिकिर गरे । उनले भने–‘एमालेसँगको हाम्रो सम्बन्ध पनि ओलीले माफ नमाँगेसम्म रहँदैन ।’
उनले राज्यको पूर्नसंरचना गर्दा एकरुपता कायम गरिनुपर्ने भन्दै मधेशको भू–भाग कुनैपनि हालतमा पनि पहाडमा गाभ्न नहुने जिकिर गर्दै मधेशको भू–भाग हरण गर्ने काम गलत हो, झापा, मोरङ्ग, सुनसरी, कैलाली, कञ्चनपुर मधेशबाट अलग बनाउन नमिल्ने बताए ।
महताले ठूलो दल भएपनि नेकपा एमालेले सहमतिको लागि कुनै सकारात्मक काम नगरेको बरु ठूलो दलको नाममा व्यवहार चाहीँ निच गरेको आरोप लगाउँदै निर्धारित मिति माघ ८ मा अब मुलुकले संविधान नपाउने ठोकुवा गरे ।