
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले घाम र बिजुलीबाट विद्युत् निकाल्ने भन्दै सपना देखाएका छन् ।
नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनको शनिबार बनेपामा उद्घाटन गर्दै उनले एक वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिए । प्रधानमन्त्रीले काठमाडौँमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिने बताए । प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम गर्दैन भने ।
ओलीले नेपाली कांग्रेसलाई लक्षित गर्दै सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताए । उनले सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको बताउँदै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुन्छ भनि चेतावनी दिए ।






