धनगढी- श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ ।
प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिकाका दीपक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत वैशाखमा कञ्चनपुर पुनर्वास नगरपालिका दशरथ बस्तीका तेजबहादुर बिष्टको लक्ष्मीसँग मागी विवाह भएको थियो । यही असार ८ गते श्रीमतीसहित ससुराली गएका बिष्ट सोही रातिदेखि बेपत्ता भएपछि आफन्तले खोजतलास गरेका थिए ।
कतैपनि पत्ता लगागेपछि बिष्टका आफन्तले प्रहरीलाई खबर गरेकामा प्रहरी टोलीले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने भासुको भीरमा बिष्टलाई गए राति मृत अवस्थामा फेला पारेको छ । बेपत्ता बिष्टको खोलतलासका क्रममा लक्ष्मी र उनका प्रेमी भनिएका खत्रीमाथि शंका लागेर अनुसन्धान गर्दा उनीहरुले नै गए राति बिष्टको हत्या भएको घटनास्थल देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।






