लण्डन । पछिल्लो केही हप्ताहरुमा कोरोना संक्रमणको दर निकै बढेपछि बेलायतमा तेस्रो चरणको लकडाउन हुनसक्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले यस अघि दोस्रो चरणको लकडाउन अन्त्य गर्ने समयमा नै क्रिसमसको समयमा संक्रमण दर व्यापक हुन सक्ने भएकोले तेस्रो चरणको लकडाउन हुनसक्ने चेतावनी दिएका थिए । उनले भनेजस्तै क्रिसमस सकिएपछि नयाँ बर्षको उपहार लकडाउन हुनसक्ने देखिएको छ ।
प्रधानमन्त्रीले ग्रेटर म्यान्चेष्टर भ्रमणको क्रममा रहँदा चाडपर्व मनाएपछि इङ्गल्याण्डमा अझै प्रतिबन्धहरु लगाउन सकिने बताएका थिए ।
हाल बेलायतमा तीन तहका प्रतिबन्धहरु लगाइएका छन् । तर क्रिसमस पछि चौथो तहको अझै कडा प्रतिबन्धहरु लागू हुन सक्ने समाचारहरु आइरहेका छन् ।
सरकारले क्रिसमसको अवसरमा डिसेम्बर २३ देखी ५ दिन प्रतिबन्धहरु खूकूलो बनाउने भनेको छ, तर वैज्ञानिकहरुले यसको प्रतिवाद गर्दै उक्त अवधिमा मृत्युदर झनै बढ्न सक्ने चेतावनी दिएका छन् ।
बेलायतमा कोरोनाभाइरस संक्रमण बढीरहेको भएपनि यसविरुद्धको खोप लगाउने काम पनि चलिरहेको छ ।
Picture: PA






