बेलायतमा अब ‘क्याल्कुलेटर’बाट कोभिड – १९ को खोप लगाउने पालो थाहा पाइने

लण्डन । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम धमाधम जारी छ ।

तर खोप लगाउने पालो कतिबेला आउँछ भन्ने विषयमा धेरै मानिसहरु समस्यामा परेका छन् ।

यसै प्रसङ्गमा कोभिड १९ विरुद्धको खोप लगाउने मानिसहरुको पालो थाहा हुने गरी नयाँ टूल विकास गरिएको छ ।

उक्त अनलाइन टूल क्याल्कुलेटर मार्फत आफ्नो खोप लगाउने पालो कतिबेला आउनेछ भन्ने थाहा हुनेछ । टूलमा मानिसहरुले आफ्नो उमेर र स्वास्थ्य जानकारी उपलब्ध गराएपछि कहिले कतिबेला पालो आउँछ भन्नेबारे जानकारी पाइने जनाइएको छ ।

हाल एक हप्तामा १० लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ । ‘भ्याक्सिन क्यूँ क्याल्कुलेटर’ नाम दिइएको उक्त टूलमा सरकारले दिएको प्राथमिकताको आधारमा आफ्नो पालो थाहा पाउन सकिनेछ । हाल ८० बर्ष भन्दा माथिका नागरिक र स्वास्थ्य जटिल अवस्थामा रहेका ब्यक्तिहरुलाई प्राथमिकता दिइएको छ ।

उक्त टूलका निर्माणकर्ताहरुका अनुसार टूलमा आफुभन्दा अघि कति जना छन् र कति दिन कूर्नूपर्ने हुन्छ भन्ने जानकारी दिने दावी गरेका छन् ।