तक्दीर अधिकारी
सिड्नी । २०१० मा नेपालमा पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको हिमानी कोषको अन्तराष्ट्रिय च्याप्टर अष्ट्रेलियामा स्थापना गरिएको छ ।
शनिबार सीड्नीमा एक कार्यक्रमबिच अन्जना कार्की बस्नेतको अध्यक्षतामा कोष स्थापना गरिएको होे । जसको महासचिवमा समिम अनवर, कोषाध्यक्षमा प्रगति राणा र प्रवक्तामा रेश्मा थापा, पब्लीक अफीसरमा राम खत्री, सदस्यहरुमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनु पाण्डे, दिपक गौतम, कमला बस्नेत र ईश्वर गिरि रहेका छन् । त्यसैगरी सल्लाहकारमा डा. शम्सेरसिंह थापा, दिनेश कुमार पोखरेल, डा रामकृष्ण निरौला, डिला खरेल, स्वतन्त्र प्रताप शाह र भोमादेवी लिम्बु चयन भएका छन् ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरूङले सामाजिक सेवा गर्ने उद्धेश्य सहित स्थापना भएको यस कोषले राखेको लक्ष्य पूरा हुनेमा शुभकामना दिदै यसमा आफ्नो पूर्ण सहयोग रहने बताए । एनआरएनए अष्ट्रेलिया प्रवक्ता नन्द गुरुङले समाजमा सकारात्मक सेवा गर्र्ने उद्धेश्य सहित गरिने हरेक प्रयासहरुमा आफ्नो साथ रहने बताए ।

अध्यक्षको रुपमा चयन भएकी अन्जना कार्की बस्नेत नेपालमा २०१० सालमा स्थापना भएको हिमानी कोषमा २०१२ साल देखि नै आवद्ध छिन् ।
अध्यक्ष भइसकेपछि लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै बस्नेतले संस्थाको एक मात्र उद्देश्य नेपाली जनता र समुदायको सेवा गर्नु भएको बताइन् । ‘यस संस्थाले हिमानी ट्रष्ट नेपाल को उद्धेश्यलाई आत्मसाथ गर्दै नेपालमा अवाश्यक परेको समुदायलाई सहयोग र सेवा दिन प्रतिबद्ध छ ।’ उनले भनिन्, ‘यहि भावनालाई आत्मसाथ गर्दै आम नेपाली जनता को परिचय बोकर निरन्तर रुपमा लागिपर्ने छौ ।’
नेपालमा पर्ने हरेक समस्या, विपदमा सहयोग गर्ने उद्धेश्य सहित स्थापना भएको कोेषले नेपाल र नेपाली जनताको लागि काम गर्ने भन्दै उनले यसको स्थापनाको लागि एक बर्षदेखि मिहेनत गरेको बताइन् । उनका अनु्सार २०२० को जनवरीमा नै संस्था दर्ता भइसकेको छ । अध्यक्ष भइसकेपछि बस्नेतले पहिलो कामको रुपमा हिमानी कोषको नेपाली च्याप्टरलाई अष्ट्रेलिया नै बोलाएर च्यारीटि कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिइन् ।

अष्ट्रेलियाबासी नेपालीले यस कोषमार्फत नेपालमा सहयोग गर्ने उद्धेश्य सहित स्थापना गरिएको अध्यक्ष बस्नेतको भनाई छ । ‘यो विशुद्ध समाजसेवा गर्ने उद्धेश्यले स्थापना गरिएको हो’ उनले भनिन्, ‘यसमा राजनीतिको कुनै गुन्जायस रहनेछैन, यो पूर्णतः गैरराजनीतिक सामाजिक कोष हो ।’
कार्यक्रममा एनआरएन अभियन्ता दिनेशराज जोशी, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, नेपाल अस्ट्रेलिया डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, सल्लाहकार डिलाराम खरेल लगायतको उपस्थिति थियो।
एक भिडियो सन्देशमार्फत कोषका संस्थापक हिमानी शाहले नेपालबाहिर पहिलो पटक अन्तराष्ट्रिय च्याप्टरको रुपमा अष्ट्रेलियामा कोष स्थापना गरिएसँगै अब विश्वभर नै यसको सञ्जाल विस्तार गर्ने योजना रहेको बताइन् ।






