बेलायतमा गायक केसीले गरे आत्महत्या

लण्डन । करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन् ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत फर्किएका थिए।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए। उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए।

आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ। अत्यन्तै मिलनसार स्वभाव भएका गायकको रुपमा चिनिने केसीको आत्महत्याप्रति बेलायतबासी नेपाली समुदायले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।