एजेन्सी । इण्डोनेशियामा दुर्घटनाग्रस्त भएको प्लेनका मानिस खोज्न गएको रेस्क्यू टीमले मानव शरीरका क्षतविक्षत अंग फेला पारेको छ । जावा सागरबाट रेस्क्यू टीमले आईतवार बडी पार्ट्स, कपडाहरु फेला पारेको हो ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।
दुई पाइलट र चार चालक दलका सदस्य थिए । फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।
सोलिहिन नाम गरेका एक व्यक्तिले विमान दुर्घटना भइरहेको देखेका थिए ।
लगतै आफ्नो क्याप्टेनका साथ समुन्द्रमा गए । उनले भनेका छन्, ‘विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा विस्फोट भयो ।’ विमानका केही अवशेष पनि भेटिएको छ ।
त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।








