बेलायती महारानी एलिजावेथ र राजकुमार फिलिपले लगाए कोरोना खोप

लण्डन । बेलायतका महारानी एलिजावेथ द्वितिया र उनका श्रीमान राजकुमार फिलिपले कोरोना विरुद्धको खोप लगाएका छन् ।

उनीहरु बस्दै आएको विन्डसोर क्यासलमै खोपको पहिलो डोज लिएको एको बकिङ्घम दरबारले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको खोप गत महिनादेखि नै वितरण सुरु गरिए पनि ९४ वर्षका महारानी र ९९ वर्षका राजकुमार फिलिपले आफ्नो पालो पखेर खोप लगाएका हुन् ।

खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लगाएको बताइएको छ ।

कोरोनाको खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उदेश्यले महारानीले खोप लगाएको सूचना सार्वजनिक गरिएको दरबारले जनाएको छ ।

बेलायतमा हालसम्म फाइजर तथा बायोएनटेक र अक्सफोर्ड तथा एस्ट्राजेनेकाको खोप १५ लाखभन्दा बढीले पहिलो डोज लिइसकेका छन् ।