काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारको ऐतिहासिक निर्णय भएको बताएका छन् । ‘सरकारले ऐतिहासिक निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएको छ,’ चुनाव घोषणापछि पत्रकारहरुसित उनले भने, ‘एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुन्छ ।’
लोकतन्त्रको रक्षाका लागि परिवर्तनका सबै एजेण्डाको रक्षा र संविधानको कार्यान्वयनका लागि निर्वाचन नै अनिवार्य विकल्प भएको प्रधानमन्त्रीको भनाइ छ ।
दाहालले तराई–मधेस, हिमाली क्षेत्रमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने निर्णय गरेको र त्यसले सबै वर्ग तथा क्षेत्रलाई समेट्ने र निर्वाचनको मार्गप्रशस्त गर्ने बताए ।
व्यवस्थापिका–संसदमा टेबल गरिएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले सो प्रक्रिया सँगसँगै सङ्घीय आयोग गठन गर्ने प्रक्रिया पनि सुरु भएको उल्लेख गरे ।






