गृह मन्त्रीको कडा चेतावनी, सरकार अब हात बाँधेर नबस्ने

काठमाडौं, २४ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले वार्तामा नआउने र आन्दोलन गरिरहनेका गतिविधिविरुद्ध सरकारले हात बाँधेर नहेर्ने चेतावनी दिनुभएको छ ।
गृहमन्त्री बस्नेतले सरकार वार्ता र सम्वादका लागि गम्भीर रहेको भन्दै सकारात्मक र परिणामुखी वार्तामा आउन आन्दोलनकारी मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
‘सरकार जिम्मेवार रुपमा वार्तामा प्रस्तुत भएको छ’, उहाँले भन्नुभयो, ‘वार्ताका बेला आन्दोलनको स्वरुप परिवर्तन गर्नुस् भन्दा नमान्ने । झन् कडा आन्दोलन गर्ने । त्यस्तो बेला सरकार हात बाँधेर बस्न सक्दैन ।’
मुलुकमा शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार र सुरक्षा निकाय सधै तयार रहेको भन्दै उहाँले वार्ताका क्रममा केही स्थानमा भएका घटना मधेसी मोर्चा कै कारण भएको संकेत गर्नुभयो ।
‘सरकारले नचाहँदा नचाहँदै पनि शान्ति सुरक्षा बनाउन खोज्दा केही घटना भएका छन्’, नेपालवाणी रेडियो नेटवर्कमा आज (मंगलबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो ।
‘आन्दोलन दमन गर्नेभन्दा पनि हामी सम्वादबाट समाधान चाहन्छौँ’, गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘मधेसमा आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनुपर्छ । मधेसी जनताले अधिकारका लागि कुरा गरिरहनुभएको छ । हामीलाई थाहा छ ।’
वार्ता चलिरहको बेला कस्तो खालको आन्दोलन गर्ने आन्दोलनकारीले सोँच्नु पर्ने गृहमन्त्री बस्नेतको भनाइ थियो । ‘वार्तामा आउनुसभन्दा नआउने आन्दोलन गरेर बसिरहने’, उहाँले भन्नुभयो, ‘त्यस्तो बेलामा सरकार हात बाँधेर बस्दैन ।’
गृहमन्त्री बस्नेतले मधेसी मोर्चाले उठाएका सबै कुरा पूरा नहुने पनि बताउनुभएको छ । ‘उहाँहरूले उठाएका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नुभयो, ‘उहाँहरूको मागको सम्मान गर्दै अरुका कुरा पनि सुन्नुपर्छ ।’
आन्दोलनकारीले जनतालाई दुःख दिने गरी आन्दोलन गरेको भन्दै गृहमन्त्री बस्नेतले आक्रोश व्यक्त गर्नुभएको छ ।
‘आन्दोलनको स्वरुप बदल्नभन्दा नमान्ने’, उहाँले भन्नुभयो, ‘आन्दोलनका क्रममा मृत्यु भएकाको आफन्तलाई सरकारले दश लाख दिएको छ । घाइतेलाई उपचार खर्च दिएको छ ।’
उहाँले उपचार खर्च नपाएकाहरूका सम्बन्धमा उपचारको बिल भरपाई बुझाए तत्काल भुक्तानी दिने बताउनुभयो ।
‘उपचार खर्च र मृत्यु भएकाहरूका सम्बन्धमा सरकारले रकम दिइसकेको छ’, गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘क्षतिपूर्ति र उपचार खर्च लिन केही निश्चित प्रक्रिया छन् । पैसा देउभन्दैमा दिने हो र ?’