आरजु देउवामाथि केपी ओलीको प्रहारः एक झोला पैसाले घर किन्दैमा कैलालीको भइँदैन

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म प्रधामन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।

कैलाली सदरमुकाम धनगढीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू छोटो समयका लागि प्रधानमन्त्री भएर तहल्का मच्चाएको बताए । आफूलाई ज्योतिषीले प्रधानमन्त्री नबनाएकाले कसैलाई दक्षिणा दिनुनपरेको उनले बताएका छन् ।

‘शेरबहादुर देउवा सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा’, ओलीले भने, ‘चारपटक प्रधानमन्त्री भएर देउवाले के गरे ?’

ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने बताउँदै अध्यक्ष ओली आफ्ना उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरे ।

देउवा पत्नी आरजुले कैलालीको बासिन्दा हुन घर किनेको प्रति पनि कडा कटाक्ष गरे । ‘काठमाडौँबाट पैसाको थैलोसहित आएर केही केही मान्छे म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दैछन्’ ओलीले आरजुमाथि व्यंग्य गर्दै भने, ‘एक झोला पैसाले घर किन्दैमा यहाँको बासिन्दा हुन सकिँदैन ।’

कांग्रेसको लोकतन्त्रमा परिवारवाद हावी हुने ओलीको भनाइ थियो । ‘माथितिर श्रीमान्, तलतिर श्रीमती, छोरा अलि सानो छ’, ओलीले भने, ‘नत्र भने छोरा पनि उम्मेदवार हुन्थे ।’

कैलालीमा थारुले नै जित्नुपर्ने ओलीको भनाइ थियो । ‘यहाँका थारुले जित्न हुँदैन, काठमाडौंबाटै आउनु पर्छ’, ओलीले व्यंग्य गर्दै भने, ‘१०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वद अझै गएको छैन ।’

वाम गठबन्धनका उम्मेवार नारदमुनि मगर यहीँको धुलो माटोमा खेलेर हुर्किएको ओलीले बताए । ‘उनले जिते पनि हारेपनि कैलालीमै रहन्छन्’, ओलीले भने, ‘तर पाहुनाले जितेपछि यहाँ फर्किने हो कि होइन थाहा छैन ।’

प्रहरी अधिकारीदेखि सीडीओ दिनदिनै फेरिएको भन्दै ओलीले चुनावमा धाँदली गर्ने प्रयास भएको बताए । उनले सरकारी कर्मचारी दुईदिने सरकारको नोकर नभएको बताउँदै सबैको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए ।