बेलायतमा पूर्व गोर्खा सैनिककी छोरी रेबेका बनिन सोलिसिटर

लन्डन । बेलायतमा नेपालीहरुले हासिल गर्दै गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बनेकी छन् – सुश्री रेबेका राई ।

पुर्ख्यौली घर बुईपा, खोटाङ भएको भूतपूर्व ब्रिटिश गोर्खा सैनिककी छोरीले बेलायतमा सोलिसिटर्स हुन सफल भएकी छन् । गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० बर्ष सैनिक सेवा प्रदान गरेर अवकाश प्राप्त भीम राईकी एकल छोरी रेबेका राई गतहप्ता बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् ।

रेबेका राईको जन्म १० जुलाइ १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा भएको थियो । उनले सन् १९९५ मा हङकङ छाडेदेखि ५ बर्ष काठमाण्डौमा बिताएर सन् २००० मा बेलायत आएकी थिईन । उनी अध्यानको क्रममा बेलायतको बिभिन्न सहरहरुमा बसाई सरेर अहिले अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी छिन् । उनको परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन हुनुहुन्छ । डा. जेशन राई लिभरपुल युनिभर्सिटि बाट सन् २०१३ मा चिकित्सक बनेका हुन् र अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जन) को तालिममा सरिक छन् ।

रेबेका राईले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अङ्ग्रेजी कानुनमा (प्रथम श्रेणी) डिग्री हाशिल गरेकी थिईन् । त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी हुन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुल बाट लिगल प्राक्टिस कोर्श (एलपिसी) गरेकी उनले अर्को बर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी थिइन । लिभरपुल बाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स काबिल गरेकी हुन् ।

‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा कार्यरत छोरी सोलिसिटर्स र छोरा अक्सफोर्ड युनिभर्सिटी बाट सर्जन हुनै लागेको अबसरमा पूर्व गोर्खा सैनिक भीम राई हर्षले गौरवान्वित भएको लन्डन नेपाल न्युज लाइ बताए ।

‘म अती अबिकशित राष्ट्रको एउटा अनकण्टर गाउँमा जन्मेको मानिस हुँ । र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एबम कलेजको अनुहार देख्ने अबसर कहिले पनि पाएको थिइन । त्यसैले म सँग बिश्व बिजय हासिल गर्ने अशङख्या सपनाहरु केही पनि छैनन् । मैले जे आशा एबम अपेक्षा गरेको थिएँ । आज त्यो सबै पुरा भएको छ । अब म मरेर गएभने सायद बेलायतमा मेरा छोराछोरी भोकले मर्दैनन् होला भन्ने झिनो आशा राखेको छु ।’ भाबूक हुदै राइले भने।